नेपाल राष्ट्र बैंकले व्यवसायी राजेन्द्र खेतानलाई कारबाही गरेको छ । सन्राइज बैंकसँग मर्ज हुनुअघिको लक्ष्मी बैंकका प्रवद्र्धक रहेका खेतानलाई बैंकले ऋणीलाई प्रवाह गरेको ऋण आफैँले चलाएको भन्दै कारबाही गरेको हो । केन्द्रीय बैंकको सुपेरिवेक्षण विभागले खेतानलाई १० लाख रुपैयाँ जरिवाना लगाएको हो ।
तत्कालीन लक्ष्मी बैंक लिमिटेड संस्थापक सेयरधनी खेतानले बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड कर्जामध्ये ११ करोड ४४ लाख रकम आफ्नो खातामा ट्रान्सफर गरेको प्रतिवेदनमा उल्लेख छ । कर्जाको ब्याजसमेत खेतानको खाताबाट ट्रान्सफर गरी भुक्तानी भएकाले उनलाई जरिवाना लगाएको केन्द्रीय बैंकले जनाएको छ । बैंकले पनि समयमा नै कर्जाको सदुपयोगिता अनुगमन नगरेकाले भन्दै उक्त कर्जा स्वीकृतिमा संलग्न बैंकका प्रमुख कार्यकारी अधिकृतलाई समेत सचेत गराइएको छ ।
कुमारी बैंकलाई कारबाही
कुमारी बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ)लाई कार्यसम्पादन नै नगरेको १३ महिना १६ दिनको पारिश्रमिक दिएको भन्दै सञ्चालक समितिलाई कारबाही गरिएको छ । बैंकले यसरी दुई करोड तीन लाख भुक्तानी दिने निर्णय गरेको प्रतिवेदनमा उल्लेख छ । सोे रकम ३५ दिनभित्र असुलउपर गर्न सञ्चालक समितिलाई निर्देशन दिएर असुलउपरसमेत भइसकेको छ, प्रतिवेदनमा उल्लेख छ ।
कुमारी बैंकले कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको तथा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ विपरीत ब्याज अनुदान दिएको भन्दै सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको उल्लेख छ ।
त्यस्तै, प्राइम कमर्सियल बैंकलाई जोखिम भारित सम्पत्ति वास्तविकभन्दा कम गणना गरेको भन्दै कारबाही गरिएको छ । बैंकको ०७८ चैतको अपरिष्कृत वित्तीय विवरणका आधारमा तयार भएको अन्तिम समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदनमा थप कर्जा नोक्सानी कायम गर्न दिइएको निर्देशन पनि पालना नगरेको केन्द्रीय बैंकले जनाएको छ । यसमा बैंकका प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिलाई नसिहत पनि दिइएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कमलादी शाखाबाट खोलिएको प्रतीतपत्र बैंककै कालीमाटी शाखाले स्वीकृत गरी सो प्रतीतपत्रअन्तर्गत भएको कारोबारमा विभिन्न मितिमा निवेदक कम्पनीबाट प्रतिज्ञापत्र जारी गरी सेवाग्राहीबाट बैंकले कुल ४१ करोड ३६ लाखबराबरको रसिद खरिद गरी कर्जा सापटमा देखाएको पाइएको छ । त्यो प्रतीतपत्रको म्याद बारम्बार थप गरी सो कर्जालाई ०७९ चैत मसान्तसम्म नवीकरण गरी असल कर्जाकै रूपमा देखाएको केन्द्रीय बैंकले जनाएको छ । त्यस्तै, आधार दर गणना गर्दा संस्थागत सामाजिक उत्तरदायित्वबापतको खर्चलाई समेत समावेश गरी आधार दर गणना गरेको केन्द्रीय बैंकको ठहर छ । त्यस्तै, पँुजीकोष गणना गर्दा केही कर्जाहरूको जोखिम भारित सम्पत्तिलाई कम देखाई पँुजीकोष गणना गरेको पनि उल्लेख छ । बैंकको सिइओलाई केन्द्रीय बैंकले सचेत गराएको छ ।