काठमाडौं महानगरपालिकाले ‘एग्रो पुलिङ’मार्फत महानगरवासीलाई गुणस्तरीय खाना खुवाउने (सेफ फुड) योजना अघि सारेको छ । यसका लागि महानगरपालिकाले अन्न–तरकारी गुणस्तरी छ या छैन भनेर परीक्षण गर्न दुईजना कृषिविज्ञ माग गरेको छ ।
महानगरअन्तर्गत कृषि तथा पशुपक्षी विभाग प्रमुख डा. अवधेश झाका अनुसार कृषिविज्ञ नियुक्त भएसँगै उनीहरूले छनोट भएका स्थानीय तहको सम्भाव्यता अध्ययन गर्नेछन् । ‘महानगरवासीलाई सेफ फुड खुवाउने वातावरण बनाउन यो काम थालेका हाैँ,’ उनले भने, ‘बिस्तारै ‘एग्रो पुलिङ’अन्तर्गत कसरी अगाडि बढ्ने भनेर कार्यविधि बनाउँछौँ । स्थानीय तह छनोट गर्छौँ । विज्ञलाई सम्बन्धित स्थानीय तहमा पठाएर अध्ययन गर्छाैँ । त्यसपछि तरकारी, फलफूललगायत उत्पादन हुनेछ ।’ महानगरले ‘एग्रो पुलिङ’अन्तर्गत रहेर काम गर्नका लागि चालू आर्थिक वर्षमा एक करोड रुपैयाँ विनियोजन गरेको छ ।
के हो एग्रो पुलिङ ?
‘एग्रो पुलिङ’ महानगरवासीलाई सुरक्षित खाना खुवाउने अभियान हो । यसअन्तर्गत महानगरले सुरक्षित उत्पादनका लागि अरू स्थानीय तहसँग समन्वयात्मक भूमिका खेल्नेछ । ‘हामी उत्पादनमा समन्वयात्मक भूमिका खेल्नेछौँ । हामीले छनोट गरेको स्थानीय तहलाई प्राविधिक सहयोग गर्छाैँ । उसले उत्पादन गरेको ठीक छ–छैन, सही मूल्य पाएको छ–छैन, उत्पादन विषादीरहित छ–छैन, हेर्छौँ,’ डा. झाले भने । उनका अनुसार तरकारी उत्पादन हुने ठाउँ नभएको महानगरलाई जमिन बाँझो भएको स्थानीय तहसँग जोडेर विषादीरहित उत्पादन महानगरवासीको भान्सामा पुर्याउने अभियान एग्रो पुलिङ हो । एग्रो पुलिङमा सहभागी हुनका लागि अब महानगरले स्थानीय तहलाई सार्वजनिक सूचना जारी गर्नेछ ।