नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले ट्रेड युनियन आन्दोलनभित्रको अराजकता अन्त्य हुनुपर्ने बताएका छन्।
१३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष भट्टले ट्रेड युनियन आन्दोलनभित्रको अराजकता र प्रशासकभित्रको स्वेच्छाचारिताको अन्त्य हुनुपर्नेमा जोड दिएका हुन्।
'संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएकोले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हितरक्षाका निमित्त ट्रेड युनियन खोल्ने, संगठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरेकोले ट्रेड युनियन आन्दोलनभित्र देखिने अराजकता र प्रशासकभित्र देखिने स्वेच्छाचारिताको अन्त्य गर्दै संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै श्रमजीवी क्षेत्रका संगठनहरूको महत्त्वपूर्ण कार्यभार हो,' भट्टले भनेका छन्।
संगठनले स्वदेशमा रोजगारी सिर्जनामा जोड दिँदै वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउन सरकारसँग मागसमेत गरेको छ।
'युवा एवं बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सरकारको निरन्तर प्रयासमा हाम्रो सदैव साथ र सहयोग रहनेछ,' विज्ञप्तिमा भनिएको छ।