वन्यजन्तु तस्कर कुन्जेक सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर

सोमबार, १७ बैशाख, २०८१
डिजिटल संस्करण

वन्यजन्तु तस्करीबाट आर्जन गरेको सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालतले कुन्जोक छिरिङ तामाङलाई दोषी ठहर गर्दै सजाय निर्धारणको पेसी तोकेको छ । आइतबार विशेषले एक वर्षअघि दायर मुद्दामा कसुर कायम गर्दै सजाय निर्धारणको पेसी तोकेको हो । विशेषका अधिकृत यज्ञराज रेग्मीका अनुसार २७ वैशाखमा उनीमाथि सजाय निर्धारण हुनेछ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासबाट यस्तो फैसला भएको हो । कुन्जोकमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १६ जेठ ०८० मा मुद्दा दायर गरेको थियो । उनले वन्यजन्तुको अखेटोपहार ओसारपसारसमेत गरी गैरकानुनी रूपमा आर्जन गरेको पुष्टि भएको हो ।

विशेषलाई प्राप्त प्रमाणबाट उनले सात करोड १४ लाख रुपैयाँभन्दा बढी व्यय तथा आर्जन गरेको भेटिएको थियो । जसमध्ये ६ करोड ४७ लाख रुपैयाँ उनको वैध आय छ भने स्रोत पुष्टि हुन नसकेको ६७ लाख ६५ हजार रुपैयाँ कसुरबाट आर्जित रहेको इजलासको निष्कर्ष छ । 

विशेषले उनलाई एकदेखि चार वर्षसम्म सजाय हुन सक्ने भन्दै सजाय निर्धारणका लागि अर्को पेसी तोकेको हो । कुन्जोकलाई जिल्ला अदालत रसुवाले पनि वन्यजन्तुसम्बन्धी अपराधमा दोषी ठहर गरेको छ । उनलाई तीन वर्षअघि जिल्ला अदालत रसुवाले सात वर्ष कैद सजायका साथै एक लाख रुपैयाँ जरिवानाको सजाय तोकेको थियो । उनीसमेतको समूहले लामो समयदेखि निकुञ्जहरूबाट वन्यजन्तुको चोरी–सिकारी र तस्करी गर्दै आएको खुलेको थियो ।

सुझावित समाचार