गोदावरी बैठकमा प्रतिशोध साँधियो : रावल

शुक्रबार, १४ बैशाख, २०८१
डिजिटल संस्करण

एमालेका पूर्वउपाध्यक्ष भीमबहादुर रावलले दशौँ महाधिवेशनमा अध्यक्षको उम्मेदवार बनेकै कारण प्रतिशोध साँधेर गोदावरीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा सहभागी हुनबाट आफूलाई वञ्चित गराइएको आरोप लगाएका छन् । बिहीबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उनले त्यस्तो आरोप लगाएका हुन् । 

०७८ मंसिरमा सम्पन्न दशौँ महाधिवेशनमा अध्यक्षको उम्मेदवार बनेर केपी ओलीसँग पराजित रावल त्यसयता जिम्मेवारीविहीन छन् । केन्द्रीय कमिटी बैठकले सल्लाहकार सदस्य मनोनयन गरे पनि उनले जिम्मेवारी अस्वीकार गरेका थिए । गत ८ र ९ वैशाखमा ललितपुरको गोदावरीमा सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा सहभागी हुनबाट वञ्चित गराउन आफूलाई सुनियोजित रूपमै महाधिवेशन प्रतिनिधि कार्ड उपलब्ध नगराइएको उनको आरोप छ । 

‘बैठकमा जान इच्छुक थिएँ, तर मेरो त परिचयपत्र बनेको रहेनछ, अनि कोही–कोही मान्छेले तर्क गरेको सुनेँ– सबैलाई पठाएको छ हेर्नुपर्छ । को हो र भीम रावल छुट्टै पठाउनुपर्ने ? के त्यसैगरी बेनामी एपबाट महाधिवेशन परिषद् बैठक यति गते हुन्छ भन्ने जानकारी दिँदा केपी ओलीजी मेरो ठाउँमा भएको भए जानुहुन्थ्यो ?’ रावलले भने, ‘एमालेको गोदावरी बैठकमा जबज र एमालेको परम्पराविपरीत कसैलाई निषेध गर्ने र महाधिवेशनमा उम्मेदवार बनेका कारण प्रतिशोध साँध्नेबाहेक केही पनि होइन । त्यसलाई गम्भीर रूपमा लिएको छु ।’

सुझावित समाचार