नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा

सोमबार, ३ बैशाख, २०८१
डिजिटल संस्करण

नेपाल एसिसी पुरुष प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार हङकङलाई हराएसँगै नेपाल सेमिफाइनलमा पुगेको हो। 

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेपछि समूह चरणको एक खेलअगावै समूह ‘ए’बाट सेमिफाइनमा पुगेको हो।

प्रतियोगितामा ६ अंक बटुल्दै नेपाल समूह ‘ए’को शीर्ष स्थानमा छ। यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो।  

जितका लागि हङकङले दिएको एक सय १५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए। उनले १८ बलमा तीन छक्का र तीन चौका प्रहार गरे। त्यसैगरी, कुशल भुर्तेलले १९ बलमा तीन चौका र दुई छक्काको मद्दतले ३२ रन जोडे।

कप्तान रोहित पौडेलले २० बलमा तीन चौकाको मद्दतमा अविजित २५ रन जोडे भने सन्दीप जोराले १७ बलमा एक चौका र एक छक्काको सहयोगमा अविजित १९ रन बनाए। हङकङका इसान खान र यासिम मुरर्ताजले समान एक–एक विकेट लिए।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १७.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय १४ रनको योगफल बनाएको थियो। हङकङका लागि अन्स्या रथले सर्वाधिक ३४ रनको योगदान दिए। उनले २६ बलमा चार चौका र एक छक्का प्रहार गरे।

त्यस्तै, जिसन अलीले १४ रन बनाउँदा कप्तान निजकात खानले १२ रन बनाए। त्यस्तै, इसान खानले ११ रन बनाउँदा त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ नेपालका अविनाश बोहराले तीन विकेट लिए भने ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट लिए। त्यस्तै, करण केसीले एक विकेट झारे। नेपालले समूह चरणको अन्तिम खेल यही वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ।

सुझावित समाचार