भकुन्डे–तेमाल सडक : २० महिनामा २२ प्रतिशत मात्र काम

शनिबार, २४ चैत, २०८०
डिजिटल संस्करण

भकुन्डे–मेच्छे सडक विस्तारको काम ढिलासुस्ती भएको छ। दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको सडक विस्तारको काम २० महिना बितिसक्दा २२ प्रतिशत मात्रै काम सम्पन्न भएको छ। सम्झौताको समय सकिन मात्र चार महिना बाँकी छ।

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका– ३ भकुन्डेबेँसीबाट तेमाल गाउँपालिकाको कार्यालय हुँदै मेच्छे जोड्ने सडक विस्तारको काम ढिला सुस्ती भएको हो। भकुन्डे–मेच्छे–मुक्पाटार–तित्रेटार–माम्दी सडक विस्तारका लागि सडक डिभिजन भक्तपुर र केएस देभीरमण तेज जेभीबीच २०७९ साउन १६ गते सम्झौता भएको थियो। आगामी २०८१ साउन १५ गतेसम्ममा आयोजना सम्पन्न गर्न २० करोड ८९ हजार ६ रुपैयाँ ४३ पैसामा सम्झौता भएको थियो।

सडक डिभिजन भक्तपुरका इन्जिनियर बिन्दा अधिकारीका अनुसार २० महिनामा २२ प्रतिशत मात्र काम भएको छ। तर, सम्झौता मिति सकिन ४ महिना मात्र बाँकी छ। नमोबुद्ध खण्ड र तेमाल खण्ड गरी दुई खण्डमा यस सडकको काम भैरहेको छ।

सडक नबन्दा स्थानीयलाई सास्ती
नमोबुद्ध नगरपालिका– ४ की एक स्थानीयका अनुसार आफूले प्रयोग गर्दै आएको गोबर ग्यासको ट्यांकी भत्काइदिएको छ। तर, सडक छिट्टै नबनाइँदा समस्या भएको उनले बताइन्। सोही वडाका माधव कँडेलका अनुसार सडक विस्तारको लागि ठाउँ–ठाउँमा भत्काएकाले सडकमा हिँड्नै नमिल्ने भएको छ। पानी पर्दा हिलोले र घाम लाग्दा धुलोले हिँड्नै नसक्ने तथा कपडा धोएर सुकाउनै नमिल्ने भएको उनले गुनासो गरे।

‘यो बाटो दिनमा हामीले १० पटक हिँड्नुपर्छ। तर, जथाभावी भत्काइनाले सडकको हरिबिजोग छ,’ उनले भने, ‘हिलोले गर्दा बर्खामा दुध बजारमा लैजान पनि समस्या हुने गरेको छ। यो सडक तत्काल निर्माण गर्नुहोला।’

सोही स्थानका कमल चियौरियाले सडक विस्तारको काम छिटो नहुँदा सडक दुर्घटना बढिरहेको भन्दै त्यसको जिम्मेवारी निर्माण कम्पनी र सडक डिभिजनले लिनुपर्ने बताए।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले सडक विस्तारको काम समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई अनुरोध गरेका छन्। जनता मारमा परेको हेर्न नसकिने भन्दै गौतमले समयमा काम नसकिए पनि नतिजा देखिने कार्यतालिका बनाएर काम गर्न निर्देशन दिएका हुन्।

जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङले सडक निर्माणको नाममा जनतालाई सास्ती दिनुनहुने बताए। तत्काल निर्माण सम्पन्न गर्न निर्माण कम्पनी र सडक विभागलाई तामाङले निर्देशन दिएका छन्।

नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले सडक विस्तारमा जनताले समस्या गरे आफूले समाधान गर्ने बताए। तर, स्थानीयलाई दोष दिएर निर्माणमा ढिलाइ गर्न भने नमिल्ने उनको भनाइ छ।

निर्माण कम्पनीका प्रतिनिधिले भने ‘पार्टनर’ले धोका दिएका कारण निर्माणमा ढिलाइ भएको हो। अब काम सरासर गरेर सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधिले प्रतिबद्धता जनाएका छन्। निर्माण व्यवसायीले दुई खण्डमा १३ किलोमिटर सडक चौडा, नाली, वालसहित कालोपत्रे गर्नुपर्नेछ।

सुझावित समाचार