आयरल्यान्ड ‘ए’माथि तीन रनको रोमाञ्चक जित

२१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डलाई २१० रनमा रोक्दै नेपालले अन्तिम टी–२० खेलमा तीन रनको जित निकाल्यो

मंगलबार, २० चैत, २०८०
डिजिटल संस्करण
आयरल्यान्ड ‘ए’माथि तीन रनको रोमाञ्चक जित

नेपालविरुद्ध टी–२० सिरिज २–१ ले जित निकालेको आयरल्यान्ड ‘ए’का खेलाडी । तस्बिर: ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

नेपाली राष्ट्रिय क्रिकेट ‘ए’ टोलीले सोमबार आयरल्यान्डको ‘ए’ टोलीविरुद्ध टी–२० सिरिजमा रोमाञ्चक तीन रनको जित निकालेको छ । लगातार दुई खेलमा पराजित हुँदै सिरिज गुमाइसकेको नेपालले त्रिवि क्रिकेट मैदानमा सम्पन्न तेस्रो खेलको अन्तिम ओभरमा जित हात पारेको हो । पहिलोपटक ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय १३ रनको विशाल योगफल कटाएको थियो ।

चालू सिरिजमा पहिलो ब्याटिङ गरेको टोलीले दुई सय रनको योगफल पार गरेको हो । यसअघि आयरल्यान्डले अघिल्ला दुई खेलमा पहिलो ब्याटिङ गरी दुई सय रनमाथि योगफल खडा पारेको थियो । तेस्रो खेलमा नेपालका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्दा आयरल्यान्ड दबाबमा देखियो । दुई सय १४ रन पछ्याएको आयरयान्डले २० ओभरमा सातै विकेटको क्षतिमा दुई सय १० रन जोड्यो । यस नजितासँगै आयरल्यान्डले अनअफिसियल टी–२० सिरिजमा नेपालमाथि ३–० को जित निकाल्ने सपना अधुरो भएको छ । 

रासिदले फ्याके अन्तिम ओभर
आयरल्यान्डलाई अन्तिम ओभरमा १९ रन आवश्यक थियो । नेपालका कप्तान विनोद भण्डारीले अन्तिम ओभर रासिद खानलाई गर्न लगाए । क्रिजमा फिनोन हान्डले स्ट्राइक लिएका थिए । उनले खानको पहिलो चार बलमा १४ रन बटुल्दै आयरल्यान्डलाई जितको आशा दिलाए । हान्डले १९.१ ओभरमा छक्का प्रहार गरेका थिए । त्यसपछिका दुई बलमा उनले दुई–दुई रन लिए । इनिङ्सको १९.४ ओभरमा हान्डले चौका प्रहार गरी टोलीलाई जितनजिक पुर्याए । हारनजिक पुगेको नेपाललाई खानले पुनः आशा दिलाए । उनले १९.५ ओभरमा उत्कृष्ट फिनिसिङ गर्ने तयारीमा रहेका हान्डलाई आरिफ सेखबाट रन आउट गराए । हान्डको रनआउटसँगै नेपालतर्फ खेल फर्कियो । इनिङ्सको १९.६ ओभरमा म्याककार्थीले बाईका रूपमा एक रन लिए । 

यससँगै नेपालले आफ्नो अन्तिम खेलमा आयरल्यान्डमाथि तीन रनको सनसनी जित निकाल्न सफल भयो । इनिङ्सको अन्तिम दोस्रो ओभरमा आयरल्यान्डले १२ रन जोडेको थियो । आयरल्यान्डका लागि हान्डले सात बल सामना गरी दुई छक्का र एक चौका प्रहार गरी २२ रनको योगदान दिए । रासिदले चार ओभरमा ५५ रन खर्चेर एक विकेट लिए । नेपालको बलिङमा विपिन खत्रीले कसिलो बलिङ गर्दै चार ओभरमा एक मेडन राखे । उनले २३ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । नारायन जोशीले ३७ रन तथ कमल ऐरीले ४२ रन खर्चेर समान एक विकेट हात पारे । 

आरिफको सर्वाधिक ९३ रन
पहिलो ब्याटिङ गरेको नेपालको सुरु गतिलो भएन । स्कोर बोर्डमा ३३ रन गुमाउँदा नेपालले तीन विकेट गुमाइसकेको थियो । आयरल्यान्डका बलर पुनः एकपटक नेपालको ब्याटिङमाथि दबाब सिर्जना गर्न सफल भए । पहिलो खेलमा शतकीय इनिङ्स खेलेका लोकेश बम केवल आठ रनमा आउट भए । दोस्रो ओपनर देव खनाल ६ रनमा पेभेलियन फर्के । कप्तान विनोद एक छक्काको सहयोगमा ११ रन जोड्दै आउट भए ।

उनी आउट हुँदा नेपाल ४.५ ओभरमा ३३–३ को अवस्थामा थियो । त्यसपछि आरिफ सेख र बसिर अहमदबीच चौथो विकेटका लागि ४७ रनको महत्वपूर्ण साझेदारी भयो । दुवैले नेपाललाई ३३–३ बाट ८०–४ को स्थितिमा राखे । बसिरले २१ बलमा तीन चौका प्रहार गरी १९ रन जोडे । सेखले अन्तिमसम्म नटआउट रही लगातार विकेटका लागि साझेदारी गर्न सफल रहे । उनले पवन सराफसँग पाँचौँ विकेटका लागि ४० रन जोडे । पवनले १२ बलमा १३ रन बनाए । 

नेपालको ब्याटिङ इनिङ्समा पुछारका ब्याट्सम्यानले सेखलाई गतिलो साथ दिए । अलराउन्ड प्रदर्शन गरेका रासिदले सेखसँग सातौँ विकेटका लागि ४६ रन जोडेका थिए । रासिदले १३ बलमा तीन छक्काको सहयोगमा २४ रन बनाए । कमलसँग सेखले आठौँ विकेटका लागि अविजित ४६ रन बटुल्दा नेपालले आयरल्यान्डलाई दुई सय १३ रनको योगफल खडा गरेको हो । सेखले ४८ बल सामना गरी सात चौका र ६ छक्का प्रहार गरी सर्वाधिक ९३ रनको योगदान दिए ।  

दुई अर्धशतक
लक्ष्य पछ्याएको आयरल्यान्डको इनिङ्समा दुई खेलाडीले अर्धशतकीय इनिङ्स खेलेका थिए । ओपनर रोस आदिरले उत्कृष्ट सुरुवात दिलाएको आयरल्यान्डलाई मोर्गान पिङ र गेराथ डेलानीले अर्धशतक योगदान दिएका थिए । रोसले १४ बलमा पाँच चौका र एक छक्का प्रहार गरी ३१ रनको योगदान दिए । उनी आउट हुँदा आयरल्यान्ड ३.२ ओभरमा ४० रनको अवस्थामा थियो । आयरल्यान्डले १२ रनका अन्तरमा तीन विकेट गुमाएको थियो । 

इनिङ्सको ३.५ ओभरमा ४१–२ मा रहेको आयरल्यान्ड ५२–४ को कमजोर अवस्थामा पुग्यो । मोर्गान र गेराथले पाँचौँ विकेटका लागि १ सय २९ रनको शतकीय साझेदारी गर्दै आयरल्यान्डलाई १७.४ ओभरमा १८१–५ को बलियो अवस्थामा पुर्याए । रासिदले मोर्गानको विकेट लिँदै खेल नेपालतर्फ ल्याउने प्रयास गरे । मोर्गानले ३७ बलमा समान चार चौका र छक्का प्रहार गरी ६० रन बटुले । मोर्गान आउट भएको दुई रनको अन्तरमै गेराथले आफ्नो विकेट गुमाए । उनले ३७ बलमा समान पाँच चौका र छक्का प्रहार गरी ६८ रन बनाए । नेपाल बलिङमा १२ अतिरिक्त रन दिएको थियो । 

सुझावित समाचार