झापाको भद्रपुर नगरपालिका– ३ स्थित धार्मिक तथा ऐतिहासिकस्थल किच्चकवधमा एउटा पूर्ण दरबारको ऐतिहासिकता दर्शाउने भग्नावशेष फेला परेको छ।
पुरातत्त्व विभागको टोलीले सातौँपटक गरेको उत्खननका क्रममा उक्त भग्नावशेष फेला परेको पुरातत्त्वविद् उद्धव आचार्यले जानकारी दिए। भद्रपुर–३ पृथ्वीनगरस्थित देउनिया नदी र मेची नदीको किनारमा रहेको किच्चकवधको ऐतिहासिकता प्रमाणित गर्न पुरातत्त्व विभागले यही चैत २ गतेदेखि १८ गतेसम्म सातौँपटक उत्खनन गरेको थियो।
पुरातत्त्वविद् आचार्यको नेतृत्वमा विभागका अधिकृत नवराज अधिकारी, इन्जिनियर रोशनी महर्जन, प्राविधिक सहायक महेशबाबु शर्मा राजोपाध्याय र फोटोग्राफर राजन पौडेलले उत्खनन गरेका थिए। पहिलोपटक पुरातत्त्वविद् आचार्यको नेतृत्वको टोलीले विसं २०५८ मा किच्चकवधमा उत्खनन सुरु गरेको थियो।
हालसम्म गरिएको उत्खननका क्रममा किच्ककवधको उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तर–पश्चिम छेउमा सेन्ट्री बस्नेसहितको भवन, सोही भवनको केही पश्चिम–दक्षिणमा अर्को बहुतले भवनको भग्नावशेष फेला परेको छ। यी चारवटा भवनको दक्षिणतिर दुई सय फुटको दूरीमा सुरक्षा प्रमुखसहित अरू सुरक्षाकर्मी बस्ने शैलीको दुईतले भवन गरी पाँचवटा भवनका संरचना फेला परेका पुरातत्त्वविद् आचार्यले जानकारी दिए।
यसअघिका उत्खननबाट फेला परेका पुरातात्विक सामग्रीको वैज्ञानिक परीक्षणबाट इशापूर्व प्रथम शताब्दीतिरको मानव सभ्यतासँग गाँसिएका प्रमाणित भएको आचार्यले बताए। ‘यो आधारमा किच्चकवधको ऐतिहासिकता २२ सय वर्ष पुरानो भएको पाइएको छ,’ उनले भने, ‘भारतमा कुषाणकाल चलेको समयमा यसस्थलमा पनि कुनै शासकको दरबार र किल्ला रहेको हुन सक्छ। पाँचौँ शताब्दीसम्म कायम रहेको (भारतको गुप्तकालसम्म) अनुमान छ।’
उत्खनन गरिएका संरक्षितस्थलमा मानिसले टेकेर हिँड्न नहुने आचार्यले बताए। ‘यो ठाउँमा मानिसको आवतजावतले संरक्षित अवशेष भत्किने गरेको पाइएको छ,’ उनले भने, ‘संरक्षण समितिले सुरक्षित राख्न सक्ने हो भने मात्र यसको ऐतिहासिकता सुरक्षित रहन सक्छ।’