थपिए तीनवटा पाँचतारे होटेल

आइतबार, १८ चैत, २०८०
डिजिटल संस्करण
थपिए तीनवटा पाँचतारे होटेल

सिद्धार्थ हस्पिटालिटी ग्रुपले भैरहवामा सञ्चालनमा ल्याएको पाँचतारे \'सिद्धार्थ भिलासा\' होटेल

यो वर्ष पाँचतारेको सूचीमा तीनवटा होटेल थपिएका छन् । पर्यटन विभागले भैरहवाको सिद्धार्थ भिलासा, लाजिम्पाटको दुसित प्रिन्सेस र धुम्बाराहीको अकामा होटेललाई पाँच तारा स्तरमा वर्गीकरण गरी इजाजतपत्र दिएको हो ।

पाँच तारा पाउने तीनवटा होटेलमा दुई सय ९७ कोठा रहेका छन् । सिद्धार्थ भिलासामा ८५, दुसित प्रिन्सेसमा १०७ र अकामा होटेलमा १०५ कोठा रहेका छन् । यससँगै पर्यटन विभागबाट पाँचतारे स्तरको इजाजात लिने होटेलको संख्या २२ पुगेको छ ।

थप चार होटेल पाँचतारेको मान्यता लिने पर्खाइमा रहेको विभागले जनाएको छ । धुलिखेलको दुसित थानी रिसोर्ट, लुम्बिनीको पवन प्यालेस, सोल्टी वेस्टेन्ट इटहरी, बुढानीलकण्ठको लेमन ट्रीलगायत होटेल पाँचतारा स्तर वर्गीकरणका लागि तयारी गरिरहेका छन् । 

साढे दुई दशकको हस्पिटालिटी अनुभव भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपले भैरहवामा ‘सिद्धार्थ भिलासा’ सञ्चालनमा ल्याएको हो । यो ग्रुपको पहिलो पाँचतारे होटेल हो । होटेलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरोन्नति गरेको पर्यटन विभागले जनाएको छ । करिब पाँच बिघामा फैलिएको होटेलमा साना–ठूला गरी पाँचवटा कन्फ्रेरेन्स हल र पाँचवटै रेस्टुरेन्ट रहेका छन् । साढे दुई अर्ब लगानीमा सञ्चालनमा आएको होटेलमा १५ सयजना क्षमताको देशकै ठूलो ब्यांक्वेट हल रहेको सिद्धार्थ ग्रुपका सिइओ कृष्ण न्यौपानेले बताए । होटेलले पाँच तारा स्तरको मान्यता पाएसँगै व्यापारमा अझ राम्रो हुने विश्वास न्यौपानेको छ । होटेलमा क्यासिनो सञ्चालनमा आएपछि पाँच सयले रोजगारी पाउने उनको भनाइ छ । होटेलमा क्यासिनोका लागि संरचनासमेत निर्माण भइसकेको छ ।

भैरहवा–लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा होटेलले ठूलो भूमिका निर्वाह गर्ने  ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले बताए । सिद्धार्थ ग्रुपले ‘भिजन २०३०’ योजनाअन्तर्गत सन् २०३० सम्ममा स्वदेश तथा विदेशमा कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको छ । अगामी वर्ष कैलालीको धनगढी र तनहुँको दमौलीमा नयाँ होटेल तथा रुपन्देहीको योगीकुटीमा ब्यांक्वेटसहितको रेस्टुरेन्ट सञ्चालनमा ल्याउँदै छ । पृथ्वी राजमार्गमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चारतारेमा स्तरोन्नति गर्ने काम भइरहेको छ ।

हालै पाँच तारा स्तरको स्तर वर्गीकरण भएको धुम्बाराहीको अकामा होटेल चार वर्षअघि सञ्चालनमा आएको हो । नौ रोपनी क्षेत्रफलमा फैलिएको होटेलमा गैरआवासीय नेपालीको लगानी छ । होटेल ल्हासा इन्टरनेसल समूहले अढाई अर्ब लगानीमा लाजिम्पाटमा सञ्चालनमा ल्याएको दुसित प्रिन्सेस होटेल पनि पाँच तारा स्तरको स्तर वर्गीकरण भएको छ । यही साउनदेखि सञ्चालनमा आएको यस होटेलको व्यवस्थापन थाइल्यान्डको प्रख्यात हस्पिटालिटी कम्पनी दुसित इन्टरनेसनलले सम्हालेको छ । १२ तलाको दुसित प्रिन्सेसमा रुफटप स्विमिङ पुल र बार छ ।

माघदेखि सञ्चालनमा आएको वर्णबास होटेलले पर्यटन विभागबाट लक्जरी बुटिक होटेलको मान्यता पाएको छ । व्यवसायी राजेन्द्र बजगाईंले करिब एक अर्बभन्दा बढी लगानीमा सञ्चालनमा ल्याएको होटेलमा ४८ कोठा छन्, जसमध्ये ६ वटा प्रेसिडेन्सियल स्विट र १८ वटा स्विट हुन् । होटेलको छानो सगरमाथा चुचुरोजस्तो आकृतिमा बनाइएको छ, जुन होटेलको आकर्षक पाटो हो । स्विमिङ पुलको नाम ‘गोक्यो’ राखेका छन् । होटेलमा ‘साउथ कोल’ नामक बार पनि छ । साउथ कोल र गोक्यो लेक सगरमाथा क्षेत्रमै पर्छन् । 

वर्णबासहित लक्जरी बुटिक होटेल तीन पुगेको पर्यटन विभागका अधिकृत तामाङले बताए । बत्तीसपुतलीको द्वारिकाज र सिंहदरबार दक्षिण ढोकाको बसेरा होटेलले यसअघि नै लक्जरी बुटिक होटेलको स्तर वर्गीकरण भई इजाजतपत्र पाइसकेका छन् । द्वारिकाज होटेल अतिविशिष्ट र विशिष्ट पाहुनाको पहिलो रोजाइमा पर्छ । लक्जरी बुटिकको मान्यता पाउनु पाँचतारे वा सोसरह रहेको उनको भनाइ छ ।

सुझावित समाचार