फिनिसिङमा चुक्दा नेपाल ‘ए’ २१ रनले पराजित

शनिबार, १७ चैत, २०८०
डिजिटल संस्करण

नेपाल ‘ए’ टोली आयरल्यान्डको ‘ए’सँग पहिलो टी–२० अभ्यास खेलमा २१ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ले २० ओभरमा पाँच विकेट गुमाएर दुई सय २२ रनको विशाल योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नेपाल १९.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय एक रनमा समेटियो । त्रिवि क्रिकेट मैदानमा नेपालका ब्याट्सम्यानले अन्तिमतिर उत्कृष्ट फिनिसिङ गर्न नसक्दा आयरल्यान्डको ‘ए’ले २१ रनको जित निकालेको हो । आयरल्यान्ड ‘ए’ले तीन खेलको टी–२० सिरिजमा १–० ले अग्रता लिएको छ ।

नेपालका लागि लोकेश बमले आक्रामक रूपमा शतकीय इनिङ्स खेलेका थिए । उनले ५६ बलमा एक सय ६ रन जोडे । उनले आफ्नो इनिङ्समा नौ चौका र आठ छक्का प्रहार गरेका थिए । नेपालको ब्याटिङमा आरिफ सेखले २६ बलमा पाँच छक्का र एक चौका प्रहार गरी ४९ रन बनाए । लोकेश र आरिफ शेखले चौथो विकेटका लागि एक सय २१ रनको साझेदारी गरेका थिए । कप्तान विनोद भण्डारीले १७ रन बटुले । अन्य खेलाडीले दोहोरो रन नै बनाएनन् । 

बलिङमा आयरल्यान्डका याथ्यु हम्फ्रिज र फिओन ह्यान्डले समान तीन विकेट लिए । इनिङ्सको एक समय नेपाल १८९–४ को बलियो स्थितिमा थियो । त्यसपछि नेपालले थप १२ रन जोड्दा ६ विकेट गुमाउन पुग्यो । आयरल्यान्ड ‘ए’का लागि पिजे मुरले ४९ रन, केड कारमाइकल र निल रकले समान ३८ रन बनाए । बलिङमा नेपालका कमलसिंह ऐरीले सर्वाधिक तीन विकेट लिएका थिए । चोटका कारण एक वर्षपछि कमब्याक गरेका कमलले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका हुन् । 

सुझावित समाचार