आठवटा हेलिकोप्टरसहित कुल १८ जहाज पुगेपछि श्री बन्यो सबैभन्दा धेरै जहाज हुने कम्पनी
निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले दुईवटा बम्बार्डियर ड्यास–८ क्यू–४०० जहाज थपेको छ । क्यानडामा निर्मित ८० सिट क्षमताका दुईवटा जहाज मंगलबार काठमाडौंमा ल्याएसँगै श्रीसँग जहाजको संख्या १० पुगेको छ । आठवटा हेलिकोप्टरसमेत गरी कुल १८ जहाज पुगेपछि श्री देशकै सबैभन्दा धेरै वायुयान हुने कम्पनी भएको छ । मंगलबार ल्याइएका ९एन–एओके र ९एन–एओएल कलसाइनका जहाज यसअघि अमेरिकाको होराइजन एयर तथा अलस्का एयरले सञ्चालन गरेको थियो । यसमा जडित इन्जिन यही रेन्जका अन्य जहाजहरूको भन्दा दोब्बर शक्तिशाली ५४ सय साफ्ट हर्सपावर भएको कम्पनीको भनाइ छ ।
दुवै जहाज अमेरिकाको अरेगन राज्यको पोर्टल्यान्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानडाको गुजबे, आइसल्यान्डको केफलामिक, जर्मनीको म्युनिक, इजिप्टको कायरो, युएईको दुबई, भारतको इन्दौर हुँदै २५ सय घण्टाको उडान तथा तीन रात्रि बिसानपछि त्रिभुवन विमानस्थलमा अवतरण गरेको श्रीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको नियामकीय प्रक्रिया यथाशीघ्र पूरा गरी व्यावसायिक उडान थाल्ने उनको भनाइ छ । थपिएका जहाजबाट आन्तरिक गन्तव्यमा उडान सेवा विस्तार गर्दै जाने योजना छ । यस्तै, तुम्लिङटार र भरतपुर विमानस्थलमा समेत नियमित सेवा सुरु गर्ने श्रीको तयारी छ ।
श्री एयरलाइन्सले सन् २०१७ मा ५० सिटका दुईवटा सिआरजे–२०० तथा ७० सिटका दुईवटा सिआरजे–७०० जेट विमानहरूबाट आन्तरिक गन्तव्यमा नियमित उडान सुरु गरेको थियो । आफुहरूले सेवा सुरु गरिसकेपछि यात्रुले सहुलियत भाडादरमा यात्रा गर्न पाएको श्री एयरलाइन्सको जिकिर छ । सुरुमा काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढीलगायत विमानस्थल र पर्वतीय उडान गरिरहेको श्रीले सन् २०१९ मा दुई र सन् २०२२ मा थप दुई गरी चारवटा ८० सिट क्षमताका क्यानेडियन क्यू–४०० ड्यास ८ जहाज ल्याएर पोखरा, सुर्खेत, जनकपुर तथा सिमरामा सेवा विस्तार गरेको थियो ।
अब श्रीसँग ५० सिटका दुईवटा सिआरजे–२००, ७० सिटका दुईवटा सिआरजे–७००, ८० सिटका ६ वटा ड्यास ८ क्यू–४०० (बुधबार थपिएका दुई जहाजसहित) फिक्स्ड विङ जहाज पुगेका छन् । यस्तै, २४ सिट वा चार हजार केजी कार्गो क्षमताका ६ वटा ट्विन इन्जिन हेभी हेलिकोप्टर र पाँच सिट क्षमताका दुईवटा सिंगल इन्जिन लाइट हेलिकोप्टर रहेका छन् ।
स्व. वनवारीलाल मित्तलले ०५५ सालमा हेलिकोप्टरबाट देशको दुर्गम तथा विकट क्षेत्रहरूमा खाद्यान्न ढुवानी, पर्यटकीय क्षेत्रमा आकस्मिक उद्धार तथा पर्यटकका सामान ढुवानी, निर्माण सामग्री, जलविद्युत् र सडक आयोजना निर्माणका मेसिनरी ढुवानी गर्न एयर अनन्या स्थापना गरेका थिए । पछि नाम परिवर्तन गरी श्री एयरलाइन्सबाट सेवा सुचारु गरिएको हो । श्री दक्षिण एसिया क्षेत्रबाटै संयुक्त राष्ट्रसंघअन्तर्गतका विभिन्न शान्ति मिसन तथा डब्लुएफपीको हेलिकोप्टरबाट अन्तर्राष्ट्रिय चार्टर उडान सञ्चालन गर्ने पहिलो वायुसेवा कम्पनी हो ।
श्रीले अन्तर्राष्ट्रिय उडानको पनि तयारी गरिरहेको छ । अहिले विशेष समयमा अन्तर्राट्रिय चार्टर उडानमार्फत यात्रु सेवा तथा कार्गो ढुवानी एवं विदेशबाट विमान ल्याउनुनपर्ने गरी आफ्नै विमानबाट विरामीलाई उपचारका लागि विदेश लैजाने सेवासमेत प्रदान गर्दै आएको छ ।