ग्लोबल मनी विकको अवसरमा देशैभर विभिन्न कार्यक्रम

मंगलबार, १३ चैत, २०८०
डिजिटल संस्करण

धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी देशव्यापी रूपमा शिक्षा तथा सचेतना अभिवृद्धि गरी लगानीकर्ता सशक्तीकरण गर्ने उद्देश्यले विभिन्न मर्चेन्ट बैंक र वित्तीय संस्थाले लगानीकर्ता सचेतना कार्यक्रम सञ्चालन गरेका छन् । मर्चेन्ट बैंक, बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम गरेका हुन् ।

नेपालमा यो कार्यक्रम प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर भन्ने नाराका साथ चैत ५ देखि ११ गते सम्म मनाइएको हो । विश्व वित्तीय सप्ताह खासगरी विद्यार्थी तथा युवायुवतीमा अनावश्यक खर्च कटौती गरी बचत गर्ने बानी बसाल्ने तथा वित्तीय शिक्षाको महत्व बुझाउने उद्देश्यले आयोजना गरिन्छ । यसका लागि नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले आफूले नियमन गरिरहेका संस्थाहरूलाई निर्देशन दिएका थिए ।

 सिटिजन्स बैंकको २५ ठाउँमा कार्यक्रम
सिटिजन्स बैंक इन्टरनेसनलले देशको सातवटै प्रदेशमा रहेका आ–आफ्ना २५ शाखा कार्यालयबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले कोशी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशको चार ठाउँमा बागमती प्रदेशको पाँच ठाउँमा तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको दुई ठाउँमा कार्यक्रम आयोजना गरेको हो ।  

 महालक्ष्मी विकास बैंकको सातै प्रदेशमा
महालक्ष्मी विकास बैंकले वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका शाखा तथा प्रादेशिक कार्यालयमार्फत वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रम सञ्चालन गरेको छ । 

 ज्योति विकास बैंकको १० भन्दा बढी
ज्योति विकास बैंकले ग्लोबल मनी विक अभियानअन्तर्गत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । अभियानको मूल नारामा केन्द्रित भई युवावर्गमा एक सप्ताहसम्म बैंकले विभिन्न शाखामार्फत देशका १० भन्दा बढी विभिन्न ठाउँमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रम आयोजना गरेको हो । 

 सेन्ट्रल फाइनान्सको चन्द्रपुरमा प्रभातफेरी
सेन्ट्रल फाइनान्स लिमिटेडले विभिन्न शाखाबाट सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने क्रममा चन्द्रपुर शाखाले प्रभातफेरी कार्यक्रम गरेको छ । चन्द्रपुर शाखाले रौतहटको चन्द्रपुरमा रहेका अन्य बैंक वित्तीय संस्थासँग मिलेर वित्तीय साक्षरता जागरणका लागि प्रभातफेरी कार्यक्रम गरेको हो । 

 ३० लघुवित्तको वित्तीय जागरण र्याली 
राजापुर गेरुवा लघुवित्त कर्मचारी मञ्चले ग्लोबल मनी विक २०२४ को अवसरमा ३० लघुवित्त संस्थाहरूको संयुक्त सहकार्यमा वित्तीय जागरण कार्यक्रममा सम्पन्न गरेको छ । तीन सय ६५ जनाको उपस्थिति रहेको कार्यक्रमको प्रथम चरणको मौन शान्तिपूर्ण र्याली मानपुर टपरा बजारमा भएको थियो । 

 हिमालयन लघुवित्तका ७५ शाखामा
हिमालयन लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरताअन्तर्गत केन्द्रीय कार्यालयलगायत ३२ जिल्लामा रहेका ७५ शाखा कार्यालयले युवालक्षित वित्तीय साक्षरतासम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले यसका साथै प्लेकार्ड, ब्यानर आदिको प्रयोग गरी र्यालीसमेत आयोजना गरेको थियो ।   

 आरबिबी मर्चेन्ट बैंकको नुवाकोटमा
आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडले नुवाकोटको विदुर नगरपालिकाको बट्टारमा रहेको श्री नुवाकोट आदर्श बहुमुखी क्याम्पसका स्नातक तथा स्नातकोत्तर तहमा अध्यनरत विधार्थी तथा शिक्षक–शिक्षिकाका लागि वित्तीय शिक्षा अभिवृद्धिका लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेको थियो । 

 ग्लोबल आइएमई क्यापिटलको कार्यक्रम
ग्लोबल आइएमई क्यापिटल लिमिटेडले देशका सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले प्लस २ तथा स्नातक तहमा अध्ययनरत विद्यार्थी एवं वैदेशिक रोजगारीका लागि विदेशी भाषा शिक्षा अध्ययन गर्ने युवायुवतीलाई लक्षित गरी लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको हो । 

 प्रभु क्यापिटलको भिजिट मर्चेन्ट बैंक
प्रभु क्यापिटलले त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागमा अध्ययन गर्दै गरेका विद्यार्थीलाई प्रभु क्यापिटलकै कार्यालयमा भिजिट मर्चेन्ट बैंक कार्यक्रमअन्तर्गत मर्चेन्ट बैंकले गर्ने कार्य, कार्यशैली, पुँजी बजार, लगानी तथा जोखिमबारे जानकारी दिएको छ ।

सुझावित समाचार