होली मनाएपछि सुनकोशी नदीमा पौडी खेल्न पस्दा बेपत्ता तीन बालबालिका अझै फेला परेनन्

राति नौ बजेसम्म खोज्दा पनि फेला नपरेपछि आजलाई खोजीकार्य रोकियो, भोलि बिहानबाट पुनः सुरु गरिने

आइतबार, ११ चैत, २०८०
डिजिटल संस्करण

उदयपुरमा होली खेलेपछि नुहाउन सुनकोशी नदी गएका तीन बालबालिका राति नौ बजेसम्म खोजी गर्दा पनि फेला पर्न सकेनन्। 
उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिका सुनकोशीमा डुबेर बेपत्ता भएका हुन्। बेपत्ता तीनै बालबालिका एउटै गाउँका हुन्।

बालबालिकाहरूको समूह आइतबार दिनभर होली खेलेर धाप्लाङघाट पुगेका थिए। कोशीमा पौडिन पसेकामध्ये चारजनाको स्थानीयले उद्धार गरेका थिए। तीनजना भने बेपत्ता भएका हुन्।

त्रियुगा नगरपालिका– १४ का वडाध्यक्ष हिमराज मगरले राति नौ बजेसम्म बेपत्ता बालबालिकाको खोजी गरे पनि फेला नपरेको बताए। उनले आजका लागि खोजी कार्य बन्द गरिएको र भोलि बिहानबाट पुनः खोजतलास सुरु गरिने जानकारी दिए। 

‘नुहाउन गएका वेला डुबेर बेपत्ता भएका तीनैजना बालबालिका राति नौ बजेसम्म खोजी गर्दा पनि फेला परेनन्। त्यसैले, आजलाई खोजतलास बन्द गरिएको छ। भोलि पुनः खोज गरिनेछ,’ वडाध्यक्ष मगरले नयाँ पत्रिकासँग भने।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाका अनुसार साउने बजारका बालबालिका सुनकोशी नदीको धाप्लाङघाटमा पौडी खेल्दा डुबेर बेपत्ता भएका हुन्।

उनका अनुसार बेपत्ता हुनेमा १२ वर्षीया रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगर छन्।
 

सुझावित समाचार