पोखरा बन्यो पर्यटकीय राजधानी

पोखरा अब चौबिसै घण्टा खुला, आगामी पाँच वर्षमा एक खर्ब लगानी थपिने विश्वास

डिजिटल संस्करण

सरकारले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरेको छ । आइतबार एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई औपचारिक रूपमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका हुन् । 

‘प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय संगम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘पर्यटकीय राजधानी घोषणा भएपछि पोखरा मात्र नभएर सिंगो गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान हुनेछ ।’ 

गण्डकी प्रदेश सरकारको २९ कात्तिक ०७८ मा बसेको बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई पत्राचार गरेको थियो । त्यस्तै, पोखरा महानगरपालिकाको २६ जेठ ०७९ मा बसेको कार्यपालिका बैठकले पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग गर्दै केन्द्र सरकारलाई पत्राचार ग¥यो । 

१० मंसिर ०८० मा गण्डकी प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा ११ सदस्यीय विज्ञ सम्मिलित पर्यटकीय राजधानी घोषणा अध्ययन समिति गठन गरेको थियो । 

सोही समितिको प्रतिवेदनपछि २३ फागुनमा बसेको गण्डकी प्रदेश सरकारको बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको थियो । ढिलो भए पनि पर्यटकीय राजधानी घोषणा भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित भएका छन् । 

‘पर्यटकीय राजधानी घोषणा गर्दा यसले दीर्घकालमा ठूलो फाइदा हुन्छ, माहोल पनि सिर्जना गर्छ,’ बाराही ग्रुपका प्रबन्ध निर्देशक विप्लव पौडेलले भने, ‘अब तीन तहकै सरकार पोखरा र आसपासमा पर्यटकीय प्रडक्ट र पूर्वाधार विकासमा केन्द्रित हुनेछन्, यसले पर्यटन प्रवर्धनमा सहयोग नै पुग्छ ।’ 

वाराही चोकमा आयोजित घोषणासभामा प्रधानमन्त्री प्रचण्डले पर्यटनको राजधानी पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सबैले भूमिका खेल्न आग्रह गरे । 

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गराउने संकल्प गरेका छन् । उनले भने, ‘पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि सम्बद्व पक्षसँग सरकारले आवश्यक पहल तथा समन्वय गरिरहेको छ ।’ 

चौबिसै घण्टा खुला हुने
व्यवसायको प्रकृतिअनुसार चौबिसै घण्टा पनि खुला गर्न दिने निर्णय कास्की जिल्ला सुरक्षा समितिले गरेको छ । किराना, खाना, खाजा, पान पसललगायत राति एक बजेसम्म र डान्सबार, दोहोरी, पब, डिस्कोलगायतलाई चौबिसै घण्टा खुल्न दिने भएको हो । 

पहिलो चरणमा ड्यामसाइड हुँदै लेकसाइड क्षेत्र, चिप्लेढुंगा, महेन्द्रपुल, पृथ्वीचोक, नागढुंगा, मुस्ताङचोक, बिरौटा, राष्ट्र बैंक चोक, ड्याम साइडलगायत स्थानहरू चौबिसै घण्टा खुला राख्ने निर्णय भएको छ ।

पर्यटकीय प्रडक्ट र पूर्वाधार विकासमा जोड
पर्यटकीय राजधानी घोषणा अध्ययन समितिले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा गरिनुपर्ने पर्यटकीय प्रडक्ट विकास र पूर्वाधार निर्माणलाई छुट्याएर काम गर्न सुझाव दिएको छ । 

नयाँ पर्यटकीय प्रडक्ट विकास, पुराना प्रडक्टको ब्रान्डिङ र पर्यटन पूर्वाधार निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकता दिने पोखरा महानगरका मेयर धनराज आचार्यले बताए । 

‘हामी योजनाबद्ध ढंगले अगाडि बढ्छौँ, तीन तहकै सरकार, व्यवसायी र स्थानीयहरू सहकार्य गरेर पर्यटन विकासमा अगाडि बढ्नेछौँ,’ उनले भने, ‘सहर चौबिसै घण्टा खुला गर्ने निर्णय भइसकेको छ, यसले पर्यटन गतिविधि बढाउनेछ, हामीले नयाँ पर्यटकीय प्रडक्ट विकास गरेर पर्यटकको बसाइ लम्ब्याउनेछौँ ।’ 

बेगनास तालमा वाटर स्पोर्टस्लाई प्राथमिकता दिइने भएको छ । बेगनासमा १६ वटा विभिन्न वाटर गेमहरू सञ्चालन हुने मेयर आचार्यले बताए । पब्लिक, प्राइभेट, पार्टनरसिप (पिपिपी) मोडलमा सञ्चालन गरिने वाटर गेममा करिब एक अर्ब लगानी हुने उनको भनाइ छ । वाटर स्पोर्टस् सञ्चालनका लागि अध्ययनसमेत भइसकेको उनको भनाइ छ ।    

पोखरा मुक्ति क्षेत्रको प्रवेशद्वार हो । सबै प्रकारका पर्यटनको माध्यमबाट पोखराआसपासमा समेत समृद्धिको ढोका खोलिने मेयर आचार्यको भनाइ छ । ‘पोखरालाई साँच्चिकै पर्यटकीय सहर बनाउँछौँ, सिंगो गण्डकी प्रदेश नै पर्यटनको हब बन्नेछ र पर्यटनबाटै समृद्धि हासिल हुनेछ,’ उनले भने, ‘हामी पूर्ण कार्ययोजनासहित अगाडि बढेका छौँ ।’

अहिले भइरहेको आन्तरिक विमानस्थललाई सुन्दरपार्कमा विकास गर्न गृहकार्य भइरहेको छ । फेवातालको दक्षिणतर्फ रहेको रानीवनमा अर्गानिक ट्रेक रुट सुरु गरिएको छ । 

‘पहिलेकोे पोखरा’ थिममा पुरानो बस्ती र संस्कृति संरक्षण गरेर आकर्षक गन्तव्य बनाइने मेयर आचार्यले बताए । पुरानो बजार रामकृष्ण टोलमा पुराना घरहरू जस्ताको तस्तै संरक्षण गरेर हेरिटेज साइटका रूपमा विकास गरिने उनको भनाइ छ । 

महानगर र प्रदेश सरकारले संयुक्त रूपमा पोखरालाई मेडिटेसन र चलचित्र छायांकनको हब बनाउने कमिटमेन्ट गरेका छन् । यस्तै, धार्मिक र खेलकुल पर्यटनलाई पनि उत्तिकै प्राथमिक दिइने भएको छ । 

पाँच वर्षमा एक खर्ब लगानी गर्ने लक्ष्य 
पर्यटकीय राजधानी घोषणा भएसँगै पोखरासहित सिंगो गण्डकी प्रदेशमा सरकार, निजी क्षेत्र र दातृ निकायको गरी करिब एक खर्ब रुपैयाँ लगानी थपिने मेयर आचार्यको अनुमान छ । 

‘पाँच वर्षमा हाम्रो २० अर्ब लगानी गर्ने सोच छ, केन्द्र सरकार, गण्डकी प्रदेश सरकारको पनि लगानी हुनेछ,’ उनले भने, ‘निजी क्षेत्रको समेत लगानी जोड्दा पाँच वर्षमा एक खर्ब लगानी हुनेछ ।’ 

यसै वर्ष महानगरले एडिबीको सहयोगमा साढे सात अर्बको पर्यटन क्षेत्रसँग सम्बन्धित पूर्वाधार विकासको काम सुरु गरिसकेको उनले बताए । जसअन्तर्गत एयरपोर्टदेखि लेकसाइडसम्म पुग्ने फास्ट ट्र्याक, बोटानिकल गार्डेन, डा. केआई सिङ पुलनिर दृश्यावलोकन गर्ने ठाउँ, सबै ताल जोड्ने साइकल लेन निर्माणलगायत १५ वटा विभिन्न परयोजना अगाडि बढेको उनको भनाइ छ । 

अहिले महानगरपालिकाले पोखरा सहरका सभागृहदेखि विभिन्न संरचनाहरूको रेनोभेसनमा २९ करोड रुपैयाँ खर्च गरिरहेको छ ।  

पोखरामा कति छन् होटेल ?
पछिल्लो समय पोखरा उपत्यकासहित वरिपरिका डाँडाकाँडामा होटेल तथा रिसोर्ट खुल्ने क्रम बढ्दो छ । अहिले पोखरामा दुईवटा पाँचतारे, सातवटा चारतारेसहित पर्यटन स्तरका १२ सय होटेल तथा लज छन् । जसमा ४० हजार बेड संख्या रहेको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ । 

गण्डकी प्रदेशभित्र तीन सय ५० भन्दा बढी होमस्टे र पोखरामा तीन सयभन्दा बढी रेस्टुरेन्ट छन् । ७४ वटा प्याराग्लाइडिङ र तीनवटा अल्ट्रालाइट कम्पनी छन् । यी होटेल तथा लजमा दुई खर्बभन्दा बढी लगानी भएको वाराही ग्रुपका प्रबन्ध निर्देशक पौडेलको भनाइ छ । 

उनी आफैँ पोखराको सेदीमा पाँचतारे ‘सेदी लक्जरी’ निर्माण गरिरहेका छन्, जहाँ करिब ६ अर्ब लगानी हुने अनुमान गरिएको छ । पर्यटकीय राजधानी घोषणा भएसँगै व्यवसायीसमेत उत्साहित भएका छन् । 

‘पर्यटकीय राजधानी घोषणा गर्नेबित्तिकै फाइदा नहोला, तर यसले क्रमिक रूपमा फाइदा पुग्छ, तीन तहकै सरकार पर्यटन प्रवद्र्धनमा केन्द्रित हुन्छन्, पूर्वाधारमा निर्माणले गति लिनेछ,’ होटेल व्यवसायी पौडेलले भने, ‘पोखरामा होटेल, प्याराग्लाइडिङ, एड्भेन्चर पर्यटनमा ठूलो लगानी भएको छ, यी क्षेत्रलाई पनि ठूलो लाभ मिल्नेछ, पर्यटकीय नगरी भनेपछि घुम्न आउने मान्छेहरू पनि बढ्ने नै छन् ।’ 

चुनौतीहरू
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको धेरै भइसक्यो । तर, सबैभन्दा ठूलो चुनौती नै नियमित अन्तर्राष्ट्रिय उडान गराउनु रहेको छ । सीधा अन्तर्राष्ट्रिय उडान नहुँदासम्म अपेक्षित पर्यटक आउन सकेका छैनन् । 

काठमाडौंबाट पोखरा पुग्न झन्डै १० घण्टासम्म लाग्ने अवस्था छ । सडक चौडा र स्मुथ नहुँदासम्म पर्यटक आगमन बढाउन नसकिने व्यवसायी बताउँछन् । यसैले बुटवल–पोखरा, काठमाडौं–मुग्लिन–पोखरा, चितवन–मुग्लिन–पोखरा, चीनको सिमानाका कोरला–पोखरा सडक छिटोभन्दा छिटो स्तरोन्नति गर्नुपर्ने चुनौती छ । गण्डकी प्रदेशमा रहेका प्रमुख पदयात्रा मार्गको स्तरोन्नति र मुस्ताङको मुक्तिनाथ सडक चार लेनमा स्तरोन्नति गरिनुपर्नेछ ।  

पोखराको बीचमा रहेको बसपार्क सार्ने र रिङरोड बनाउने योजनाले मूर्तरूप लिन सकेको छैन । बेगनास–फेवाताल साइकल पथ, कोरोला–पोखरा–नवलपुर द्रुतमार्ग, आधुनिक टर्मिनलसहितको बसपार्क, नयाँ पदमार्ग पहिचान र प्रवद्र्धन, गुणस्तरीय सडक निर्माण, सहरी सौन्दर्यीकरण, दिगो फोहोरमैला व्यवस्थापन, मुख्य चोकमा ओभरपास, सहज पार्किङ, पैदलमार्ग, वाटर स्पोर्टस्लगायत निर्माण पनि चुनौतीका रूपमा रहेका छन् । 

पोखराका नौवटा ताल जोड्न ८५ किमि लेक टु लेक साइकल ट्र्याक निर्माण प्रक्रिया अगाडि बढाइएको छ, तर यसलाई पूर्णता दिन पनि चुनौती छ । 

पर्यटकीय राजधानी हुँदाका फाइदाहरु 
– गण्डकी प्रदेश र पोखरा महानगरको नीति, योजना र कार्यक्रममा पर्यटन क्षेत्रले प्राथमिकता प्राप्त गर्नेछ
– पोखराको पर्यटकीय ब्रान्डिङ गर्ने अभियानमा थप योगदान पुग्नेछ । पोखराको अन्तर्राष्ट्रिय जगतमा सित्तैमा प्रचार–प्रसार हुनेछ ।
– पोखराको पर्यटकीय बजारीकरण तथा प्रवद्र्धनमा बल पुग्नेछ
– पर्यटन व्यवसायीमा थप उत्साह र उर्जा थपिने छ 
– पोखरामा बाह्य तथा अन्तरिक लगानीमैत्री वातावरण सिर्जना हुनेछ
– गण्डकी प्रदेश सरकार र स्थानीय तहहरुबीच समन्वय र सहकार्य थप मजबुत हुनेछ
– पर्यटनमैत्री पूर्वाधार निर्माणमा तीन तहकै सरकार केन्द्रित हुनेछन् 
– पर्यटक बढ्न थालेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहज हुनेछ
– पोखराको होटेल, साहसिक गतिविधि लगायतमा निजी क्षेत्रको लगानी पनि बढ्नेछ 
– पर्यटकीय गतिविधि बढेसँगै रोजगारीका अवसर र उद्यमशीलता विकास हुनेछ
– पोखरा क्षेत्रको सांस्कृति तथा ऐतिहासिक धरोहरहरुको संरक्षण हुनेछ ।
– पोखरा पुग्ने सडक निर्माणले गति लिनेछ, महानगगरभित्रै सडक स्तरोन्नती हुनेछ 
– नयाँ प्रर्यटकीय प्रडक्टहरु थपिने र पुराना प्रडक्टको ब्रान्डिङ हुनेछ
– सहरी सौन्दर्यीकरणमा सहयोग पुग्नेछ
– पोखरा चौबिसै घण्टा खुला हुनेछ, जसले आर्थिक गतिविधिमा बढावा दिनेछ

सुझावित समाचार