सदनमा कांग्रेसको चेतावनी : ‘वेल’ घेर्न बाध्य नपारियोस्

शुक्रबार, २ चैत, २०८०
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार जबर्जस्ती अघि बढ्न खोजे वेल घेर्ने चेतावनी दिएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न लाग्दा उठेर सदन अवरोध गरेको कांग्रेसले त्यस्तो चेतावनी दिएको हो । 

विरोध चलिरहँदा सदन अघि बढाउन खोजिएको भन्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले वेल घेर्न बाध्य नपारियोस् भन्दै चेतावनी दिए । 

‘हामी प्रतिपक्षलाई सत्ताले वेलमै बोलाएको हो ? हामीलाई बाध्य नपारियोस्,’ उनले भने, ‘प्रधानमन्त्रीले जवाफ नदिँदासम्म हामी उपप्रधानमन्त्री तथा गृहमन्त्रीको कार्यसूची प्रस्तुत गर्न दिँदैनौँ ।’ 

प्रमुख सचेतक लेखकले विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकतामाथिको छलफललाई अवरोध नगर्ने स्पष्ट पारे । 

त्यसअघि कांग्रेस सांसदहरू उठेर विरोध गरिरहेका वेला सत्तापक्षीय सांसद माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले नियमावलीको पालना नभएको भन्दै सदन अगाडि बढाउन माग गरेका थिए । यस्तै, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपाका सन्तोष परियारले पनि बोल्नका लागि समय माग गरेका थिए ।

सुझावित समाचार