प्रतिवादी बनाइएका ३३ जनाबाहेक अरूलाई पनि मुद्दा चलाउन सिफारिस

शुक्रबार, २ चैत, २०८०
डिजिटल संस्करण

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सिआइबीले प्रतिवादी बनाएकाबाहेक अन्यलाई पनि मुद्दा चलाउन सिफारिस गरेको छ । अनुसन्धानमा संलग्न प्रहरीकै केही उच्च अधिकारीलाई समेत विभागीय कारबाही गर्न आयोगको प्रतिवेदनमा छ । साथै, सुन तस्करी रोक्न अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालका नाकाहरूको संरचनागत सुधार गरिनुपर्ने आयोगको सुझाव छ । 

बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई गृह मन्त्रालयमा आयोगका अध्यक्ष तथा पूर्वन्यायाधीश डिल्लीराज आचार्यसहितको टोलीले बुझाएको प्रतिवेदनमा प्रतिवादी बढाउन भनिएको हो । आयोगले सिआइबीले प्रतिवादी बनाएका ३३ अभियुक्त र प्रतिवादी नबनाइएका २१ जनासँग पनि बयान लिएको थियो । बाँकी थप विभिन्न १४ जनासँग पनि आयोगले छानबिनका क्रममा बयान लिएको थियो । 

अनुसन्धानका क्रममा कैफियत देखिएपछि अनुसन्धानमा संलग्न प्रहरीका केही उच्च अधिकारीलाई विभागीय कारबाही गर्न आयोगले सिफारिस गरेको हो । आयोगका अनुसार विशेष गरी विभागीय कारबाहीको सिफारिस गरिएकाहरू घटनाको अनुसन्धानमा संलग्न तत्कालीन प्रहरी अधिकृत छन् । 

अनुसन्धानमा संलग्न सिआइबीका प्रमुख एआइजी किरण बज्राचार्य, डिएसपी रुगम कुँवर, डिएसपी दुर्गा दाहालसँग आयोगले बयान लिएको थियो । विमानस्थलबाट तस्करी भएको ६०.७१६ किलो र इलेक्ट्रिक चुरोट(भेप)मा लुकाई तस्करी गरिएको साढे नौ किलो सुनको अनुसन्धान सिआइबीले गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई आएको ६०.७१६ र इलेक्ट्रिक चुरोट (भेप)मा लुकाई तस्करी गरिएको साढे नौ किलो सुनको अनुसन्धानमा संसद्मा मुद्दा उठेपछि सरकारले १४ असोजमा आयोग गठन गर्ने निर्णय गरेको थियो । आयोगले बिहीबार गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार आयोगले ६८ जनासँग बयान लिएको थियो । जसमध्ये केहीलाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने र केहीलाई विभागीय कारबाही गरिनुपर्ने भनिएको छ । त्यस्तै, केही व्यक्तिको सूचना राज्यको रेकर्डमा राखिनुपर्ने र केहीलाई मुद्दाबाट सफाइ दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ । 

‘आयोगले बिहीबार चार सय ८५ पृष्ठको प्रतिवेदन सरकारलाई बुझाएको छ । जसमध्ये तीन सय ८० पृष्ठसम्म विभिन्न सुझाव तथा सिफारिस गरिएको छ । त्यसमा कतिलाई मुद्दा चलाउन  भनिएको छ,’ आयोग अध्यक्ष आचार्यले भने, ‘कतिलाई विभागीय कारबाही गर्न, कतिलाई सफाइ दिन र कतिको रेकर्ड स्टेटले राख्नुपर्ने भनिएको छ ।’ आयोगले सिआइबीबाट भएको अनुसन्धानलाई पनि जाँचबुझ गर्ने र कैफियत देखिए कारबाहीका लागि सिफारिस गर्ने भनिएको छ ।  

आयोगले प्रतिवेदनमा सुन तस्करी रोक्न अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालका नाकाहरूको संरचनागत सुधार गरिनुपर्ने सुझाव उल्लेख छ । त्यस्तै, नीतिगत सुधार हुनुपर्ने विषय पनि प्रतिवेदनमा समेटिएका छन् । सुन तस्करी रोक्न कानुन परिवर्तन गरिनुपर्ने सुझावसमेत प्रतिवेदनमा उल्लेख छ । त्यसबाहेक नेपाल भित्रिने र बाहिरिने नाकाको क्षमता अभिवृद्धि गरिनुपर्ने र सूचना संकलनका लागि प्राविधिक सुधार गरिनुपर्नेलगायतका सुझाव प्रतिवेदनमा छन् । ‘प्रतिवेदनमा धेरै सुझाव पेस गरिएका छन् ।

घटनामा जोडिएका प्रहरी अधिकृतलाई विभागीय  कारबाही गर्न र सुन तस्करी रोक्न अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालका नाकाहरूको संरचनागत सुधार गर्न सुझाव

जसमध्ये केही सुझाव संरचनागत सुधारसँग सम्बन्धित छन् । केही नीतिगत र कानुन परिवर्तनसँग सम्बन्धित छन् । त्यस्तै, केही सुझाव नाकाको क्षमता अभिवृद्धि गरिनुपर्ने, सूचना संकलनका लागि प्राविधिक सुधार गरिनुपर्ने विषयसँग पनि सम्बन्धित छन्,’ आयोग अध्यक्ष आचार्यले भने । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई आएको ६०.७१६ र इलेक्ट्रिक चुरोट(भेप)मा लुकाई तस्करी गरिएको साढे नौ किलो सुन अनुसन्धानमा  तत्कालीन प्रतिपक्ष दल एमालेले शंका गरेपछि सरकारले घटनाको छानबिन गर्न १४ असोजमा आयोग गठन गर्ने निर्णय गरेको थियो । यसक्रममा आयोगले त्यसको विस्तृत छानबिन गरेको थियो । आयोगले १६ असोजबाट सिंहदरबारस्थित गृह मन्त्रालयको पुरानो भवनमा कार्यालय स्थापना गरेर कारबाही प्रक्रिया अघि बढाएको थियो । आयोगले विशेष गरी ६०.७१६ किलो र भेपमा लुकाई तस्करी गरिएको साढे नौ किलो सुनको सम्पूर्ण अनुसन्धान प्रतिवेदन कार्यालयमा नै मगाई छानबिन गरेको थियो । 

सुझावित समाचार