संघीय सरकारले विश्वासको मत पाएसँगै प्रतिपक्ष दल कांग्रेसले प्रदेशमा आफू नेतृत्वको सरकार जोगाउने उपायमा आफ्नो शक्ति केन्द्रित गरेको छ । आफ्नो नेतृत्वका प्रदेश सरकार सुरक्षित गर्ने र सत्तागठबन्धनबाहेकका घटकसँग सहकार्य गरेर अन्य प्रदेशका वैकल्पिक गठबन्धन बनाउन कोसिस गर्ने कांग्रेस रणनीति छ ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रदेशमा सरकार सुरक्षित गर्ने र वैकल्पिक गठबन्धन बनाउने विषयमा गृहकार्य भइरहेको जानकारी दिए । ‘हामीले प्रदेशका विषयमा जानकारी लिइरहेका छौँ । बागमती, गण्डकी, सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार सम्भव छ । यसका लागि प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘राप्रपासहितका दलसँग छलफल गरिरहेका छौँ । केन्द्रमा गठबन्धनमा रहेका दलले पनि प्रदेशको आवश्यकता हेरेर निर्णय लिन सक्छन् । यस्तो अवस्थामा सबै सम्भावना खुला राखेर प्रदेशमा कांग्रेस नेतृत्वको सरकारका सम्भावना र निरन्तरताका लागि गृहकार्यमै छौँ ।’
कांग्रेस सहमहामन्त्री जीवन परियारका अनुसार मंगलबार सभापति शेरबहादुर देउवाले प्रदेश सरकारका विषयमा केन्द्र र प्रदेशका पदाधिकारीसँग छलफल गरेका थिए । देउवानिवास बुढानीलकण्ठमा बसेको बैठकले अन्य घटकलाई समेट्न रणनीतिक रूपमा अगाडि बढे सरकार बचाउन सकिने निष्कर्ष निकालेको थियो ।
कांग्रेस प्रवक्ताडा. प्रकाशशरण महत भन्छन्–प्रदेशका विषयमा जानकारी लिइरहेका छौँ । बागमती, गण्डकी, सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार सम्भव छ । यसका लागि प्रयास गरिरहेका छौँ । राप्रपासहितका दलसँग छलफल गरिरहेका छौँ । केन्द्रमा गठबन्धनमा रहेका दलले पनि प्रदेशको आवश्यकता हेरेर निर्णय लिन सक्छन् । यस्तो अवस्थामा सबै सम्भावना खुला राखेर प्रदेशमा कांग्रेस नेतृत्वको सरकारका सम्भावना र निरन्तरताका लागि गृहकार्यमै छौँ ।
केन्द्रमा विश्वासको मतमा दलहरूको भूमिकालाई हेरेर अघि बढ्ने कांग्रेसले रणनीति लिएको थियो । कांग्रेसले बागमतीमा केन्द्रमा प्रतिपक्षमा रहेको राप्रपासँग सहकार्यका लागि छलफल गरिरहेको छ । ११० सदस्यीय बागमती प्रदेश सभामा बहुमत पाउन ५६ मत आवश्यक पर्छ । हाल केन्द्रको समीकरणका आधारमा सत्तागठबन्धनसँग ५५ मत (एमाले २७, माओवादी २१ र एकीकृत समाजवादी सात) छ । विपक्षमा रहेका कांग्रेससँग ३७, राप्रपासँग १३, नेमकिपासँग तीन र हाम्रो नेपाली पार्टीसँग दुई गरी ५५ मत पुग्छ । सरकार गठनका लागि सभामुखले मत दिन नपाउने व्यवस्था छ । नेमकिपाले केन्द्रमा विश्वासको मत दिएको छैन । बागमतीमा राप्रपाबाट सभामुख बनेका छन् । सभामुखबाहेकको मतका आधारमा राप्रपासँग १२ मत छ । यस आधारमा गठबन्धन बाहिरबाट सरकार बन्ने सम्भावना देखिँदैन ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतको सरकार गठनका लागि ३१ सदस्यको समर्थन आवश्यक हुन्छ । हाल गण्डकीमा गठबन्धनको ३० (एमाले २२, माओवादी सभामुखसहित आठ, एकीकृत समाजवादीको एक) मत छ । कांग्रेस २७ र राप्रपाको दुई मत गरी विपक्षमा २९ मत छ । नयाँ गठबन्धनभित्रैका दलको नेतृत्वमा सरकार गठन गर्न राप्रपाको समर्थनविना असम्भव छ । बहुमतको सरकार गठनका लागि थप एक मत आवश्यक पर्छ । राप्रपाले मत दिएमा मात्रै सत्तागठबन्धनको सरकार गठन सम्भव छ ।
सुदूरपश्चिम प्रदेशमा कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले सरकार जोगाउने प्रयास गरिरहेका छन् । ५३ सदस्य रहेको सुदूरपश्चिममा बहुमतका लागि २७ मत आवश्यक छ । सुदूरपश्चिम प्रदेश सरकारमा रहेको नाउपाले संघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको छ । केन्द्रको गठबन्धनका आधारमा सत्तागठबन्धनसँग ३२ मत (माओवादी ११, एमाले १०, नागरिक उन्मुक्ति सात र एकीकृत समाजवादी चार) छ । कांग्रेससँग १८, राप्रपा एक र एक स्वतन्त्र सांसद् छन् ।
कोशीमा कांग्रेस नेतृत्वमा सरकार छ । तर, संविधानको धारा ७६ (५) अनुसारको सरकार रहेकाले मध्यावधिको सम्भावनाले संवैधानिक जटिलताका कारण दलहरू दोधारमै छन् । कांग्रेस प्रवक्ता महत तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन सक्ने प्रशस्त आधार र सम्भावना रहेको जिकिर गर्छन् । प्रदेशमा निर्णायक रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ राप्रपा सरकारमा सहभागी नहुने, तर आवश्यकता हेरेर समर्थनको विषयमा निर्णयको अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको बताउँछन् ।