नेपाललाई हराउँदै पिएनजी च्याम्पियन

बुधबार, ३० फागुन, २०८०
डिजिटल संस्करण

ओपनर टोनी उराको अर्धशतकप्रेरित पपुवा न्युगिनी (पिएनजी) ले  त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखलाको उपाधि जितेको छ। हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा कमजोर प्रदर्शन गरेको नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजी च्याम्पियन भयो।  

पिएनजीले टस हारेर सुरुवाती ब्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा ब्याटिङ गरेको नेपालले १६.३ ओभरमा अलआउट हुँदा मात्र ८५ रन बनाउन सक्यो। 

यसअघि नेपाल दुई खेलबाट तीन अंक र पिएनजी दुई अंकसहित शीर्ष दुईमा रहेर फाइनल खेलेका थिए। दुई खेलमा एक अंक जोडेको घरेलु टोली हङकङ तेस्रो हुँदा बाहिरियो। नेपालले पहिलो खेलमा वर्षा बाधक बन्दा हङकङसँग अंक बाँडेको थियो । दोस्रो खेलमा पिएनजीलाई ८५ रनले हराएको हो। 

नेपालको इनिङमा कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। नेपाल फाइनलमा पनि ब्याटिङ संघर्ष गर्न पुग्यो। ठूलो साझेदारी नै बन्न सकेन। ओपनरद्वय कुशल भुर्तेलले पाँच र विनोद भण्डारीले चार रन मात्रै बनाए। त्यसपछि आएका कप्तान रोहितकुमार पौडेलले १२ जोडेर बाउबाट आउट हुन पुगे। चौथो नम्बरमा आएका गुल्सन झा ६ रन बनाएर रनआउट भए।

मध्यक्रममा सन्दीप जोसराले १७ र आरिफ शेखले १५ रन जोडेका हुन्। सातौँ नम्बरमा आएका विवेक यादवले एक रन मात्रै जोड्दा नेपाल हारनजिक पुगेको थियो। आशा गरिएका अलराउन्डर करण केसीले पनि तीन रन मात्रै जोड्न सके। प्रतिश जिसी शून्यमा पेभेलियन फर्किएपछि पिएनजीले सहज जित निकालेको हो। 

पिएनजीका लागि काबुआ मोरिया, चाद सोपर र सेसे बाउले समान दुई विकेट हात पारे । अलेई नाओको नाममा एक विकेट रह्यो। 

यसअघि कमजोर सुरुवात गरेको पिएनजीलाई ओपनर टोनी उराले अर्धशतक बनाउँदै प्रतिस्पर्धात्मक स्कोरतर्फ अगाडि बढाएका थिए। उराले ३७ बलमा पाँच चौका र चार छक्कासहित सर्वाधिक ६१ रन बनाए। नवौँ नम्बरमा आएका आलेई नाओले आक्रामक ब्याटिङ गर्दै १० बलमा एक चौका र तीन छक्कासहित ३० रन बनाएका हुन्। 

नेपालका कुशल भुर्तेल र आकाश चन्दले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका कुशलले चार ओभरमा २४ रन खर्चिए। युवा बलर आकाश चन्दले चार ओभरमा ४१ रन खर्चिएका हुन् । करण केसी र गुल्सन झाले समान एक विकेट लिए। पिएनजीका अर्का ओपनर सेसे बाउलाई करणले आकाश चन्दबाट डक गराएका हुन्। आकाशले विकेटकिपर विनोद भण्डारीबाट कप्तान असाद भालालाई दुई रन बनाउँदा क्याच गराए। 

आकाशले दोस्रो विकेटको रूपमा करणबाट लेगा सिआकालाई दुई रनमा आउट गराउँदा ३.१ ओभरमा पिएनजी २०–३ को अवस्थामा थियो। गुल्सनले नाै बलमा दुई चौका र एक छक्का हिर्काएका हिरिहिरीलाई लोकेस बमबाट क्याच गराएका हुन्। 

पाँचौँ विकेटका लागि टोनी उरा र चाद सोपरबीच ३९ बलमा सर्वाधिक ४८ रनको साझेदारी भएको थियो। चादले १३, हिला भारेले १८, किप्लिन डोरिगाले १४ रन बनाएर आउट भएका हुन्। प्रशिक्षक मोन्टी देसाईले यस शृंखलाका लागि अनुभवी खेलाडीलाई विश्राम दिँदै नयाँ खेलाडीलाई अवसर दिएका हुन्।

सुझावित समाचार