पारस नेतृत्वको टोलीले जित्यो लिजेन्ड कप टी–१०

मंगलबार, २९ फागुन, २०८०
डिजिटल संस्करण
पारस नेतृत्वको टोलीले जित्यो लिजेन्ड कप टी–१०

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

पारस खड्का नेतृत्व रहेको टोलीले सोमबार लिजेन्ड कप टी–१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पारसको नेतृत्वमा सन् २०१४ को टी–२० विश्वकप टोली रहेको थियो । रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक क्रिकेट रंगशालामा सोमबार फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै पारस नेतृत्वको टोलीले उपाधि हात पारेको हो । टी–२० विश्वकप टोलीले पहिलो ब्याटिङ गरेको थियो । पहिलो ब्याटिङ गर्दै टी–२० विश्वकप टोलीले निर्धारित १० ओभरमा सात विकेट गुमाएर १०१ रनको बलियो योगफल खडा गर्यो । प्रत्युत्तरमा रेस्ट अफ नेपालले निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै ८४ रन मात्र बनाउन सक्यो ।

रेस्ट अफ नेपालका लागि युनिल श्रेष्ठले १८ रन र सीता रानामगरले १२ रन जोडेका थिए । यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन बनाएनन् । टी–२० विश्वकप टोलीका बलर स्यामसुङ जङ थापाले सर्वाधिक चार विकेट लिएका थिए । शक्ति गौचन र बद्री पंगेनीले समान दुई विकेट हात पारे । टी–२० विश्वकप टोलीबाट कप्तान पारसले आक्रामक रुपमा ब्याटिङ गरेका थिए । उनले १२ बलमा ३९ रन बनाए । वीरेन्द्र शाहले २९ र प्रफुल्ल वैद्यले १३ रनको योगदान दिए ।

बलिङमा रेस्ट अफ नेपालका लाक्पा लामाले चार विकेट लिए । राजकुमार प्रधान र दीपेन्द्र चौधरीले एक–एक विकेट लिएका थिए । यसअघि रेस्ट अफ नेपालले रुपन्देही लिजेन्ड्सलाई हराउँदै फाइनलको स्थान पक्का गरेको थियो । २०१४ टोलीले १९९६ लिजेन्ड्सलाई हराउँदै अन्तिम दुई स्थान पक्का पारेको थियो । तिलोत्तमा नगरपालिका वडा १७ दरखसवामा निर्मित रंगशालाको उद्घाटनको अवसरमा लेजेन्ड्स कप क्रिकेट आयोजना भएको हो । खेलमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको टोली, रुपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपाल गरेर चार टोली सहभागी भएका थिए । 

यसअघि प्रतियोगिताको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेका थिए । प्रदेश प्रमुख शेरचनले ब्याटिङ र कुँवरले बलिङ गरी मैदानको शुभारम्भ गरेका हुन् । ४० करोड रुपैयाँभन्दा बढी लगानीमा एक्स्ट्राटेक ओभल रंगशालाको निर्माण गरिएको हो । गुल्मीका विनोद कुँवरको निजी लगानीमा क्रिकेट रंगशालाको मैदान बनेको हो । गत ३० जेठमा रंगशालाको शिलान्यास भएको थियो । करिब आठ महिनामा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला खेल्न योग्य भएपछि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । 

सुझावित समाचार