वसन्तपुर–ढुंगेसाँघु दुई सय २० केभी प्रसारणलाइनको पहिलो सर्किट तयार

सोमबार, २८ फागुन, २०८०
डिजिटल संस्करण

कोशी करिडोर दुई सय २० किलोभोल्ट (केभी) प्रसारणलाइन आयोजनाअन्तर्गतको वसन्तपुर–ढुंगेसाँघु खण्डको पहिलो सर्किट निर्माण सम्पन्न भएको छ । संखुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुंगेसाँघु सबस्टेसनसम्मको उक्त लाइनको पहिलो सर्किट तयार भएको हो । तमोर नदी र त्यसका सहायक खोलामा निर्माण भएका जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न दुई सय २० केभी डबल सर्किट प्रसारणलाइन बनाइँदै छ ।  

समुद्र सतहबाट तीन हजार मिटर उचाइसम्म भएर जाने वसन्तपुर–ढुंगेसाँघु प्रसारणलाइनको लम्बाइ ३५ किलोमिटर छ । प्रसारणलाइनका लागि एक सय २७ वटा टावर निर्माण गरिएका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वसन्तपुर–ढुंगेसाँघु प्रसारणलाइन निर्माण सम्पन्न भएपछि मुख्यतः ७३ मेगावाटको मध्यतमोर जलविद्युत् आयोजनाको विद्युत् प्रवाहमा सहज हुने बताए । ‘प्रसारणलाइन र सबस्टेसन तयार भयो । तर, जलविद्युत् आयोजनाहरू निर्माण हुन नसक्दा दुई सय २० केभी लाइन कम क्षमतामा चलाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘मध्य तमोरलगायतका जलविद्युत् आयोजनाहरूको विद्युत् उक्त लाइनमा जोडिएर इनरुवा सबस्टेसनमार्फत मोरङ र सुनसरी जिल्ला आपूर्ति गरिने हुँदा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि उत्पादन स्रोत भएको छ जसले गर्दा भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ ।’ 

वसन्तपुर–ढुंगेसाँघु दुई सय २० केभी प्रसारणलाइन र ढुंगेसाँघुमा १३२÷३३ केभी सबस्टेसन निर्माणका लागि केइसी इन्टरनेसनल, भारतसँग माघ ०७४ मा दुई करोड ४५ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । उक्त ठेक्का सम्झौता ०७५ जेठबाट कार्यान्वयनमा आएको थियो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारत सरकारको निर्यात–आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा वसन्तपुर–ढुंगेसाँघु प्रसारणलाइन निर्माण गरिएको हो । कोशी करिडोर प्रसारणलाइन आयोजना प्याकेज–४ अन्तर्गत वसन्तपुर–ढुंगेसाँघु प्रसारणलाइनको दोस्रो सर्किट निर्माण र वसन्तपुर सबस्टेसनमा वे विस्तार कार्य भइरहेको छ । कुल ३५ किलोमिटरमध्ये प्रसारणलाइनमध्ये हालसम्म १५ किलोमिटर तार तानिएको छ । 

यस प्याकेजका काम गर्न नेपाल हाइड्रो एन्ड इलेक्ट्रिकसँग कात्तिक ०७९ मा ठेक्का सम्झौता भएको थियो । नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भइरहेको यस प्याकेजका सम्पूर्ण काम आगामी डेढ महिनाभित्रमा सक्ने लक्ष्य छ । कोशी करिडोर प्रसारणलाइन प्याकेज–१ अन्तर्गत संखुवासभाको तुम्लिङटारबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित इनरुवा सबस्टेसनसम्मको दुई सय २० केभी डबल सर्किट टावर निर्माण गरी टावरको एकतर्फ मात्र तार तानेर लाइन सञ्चालनमा ल्याइएको छ । कोशी प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो । 

कोशी करिडोर प्रसारणलाइन आयोजनामार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब एक हजार  मेगावाट, ढुंगेसाँघुदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत प्रसारण गर्न सकिन्छ । कोशी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको दुई सय २० केभी प्रसारणलाइन हो ।

सुझावित समाचार