नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री रामबहादुर थापा बादलले अस्थिर प्रचण्ड प्रवृत्तिलाई स्थिर बनाउन नेकपा एमालेले कोसिस गर्ने र मोर्चा टिकाउने बताएका छन्।
शुक्रबार प्रेस चौतारी नेपाल गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बादलले प्रचण्डको अस्थिर प्रवृत्ति स्थापित भइसकेकाले श्रमजीवी वर्गको सबैभन्दा ठूलो पार्टी एमालेले प्रचण्ड प्रवृत्ति सच्याउँदै अहिलेको गठबन्धन अगाडि बढाउने बताए।
श्रमजीवी कम्युनिस्ट र पुँजीपति काङ्ग्रेसबीचको शक्ति र सत्ताको लडाइँमा अस्थिर कम्युनिस्ट शक्तिलाई हातमा लिन कांग्रेसले अनेक जालझेल गरिएको बतए।
उनले अहिलेको सरकारलाई चुनौती र काम गर्ने अवसर दुवै भएकाले साझा न्यूनतम कार्यक्रममार्फत देशमा देखिएका संकटहरूको समाधान गर्दै लैजाने बताए।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटनको क्रममा गुल्मी आएका थापाले विगतको अवस्थाको आधारमा सरकार नफुट्ला भन्न पनि नसकिने बताए।
आफूहरूले गठबन्धन फुटालेपछि अरूले नफुटाउलान् भन्न सक्ने अवस्था नभएकाले मोर्चा सुदृढीकरण गर्दै लैजाने स्पष्ट पारे। आफूहरू जिल्ला अधिवेशन र उपनिर्वाचनमा केन्द्रित भएकोसमेत बादलले बताए।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेश संयोजक बालसिंह काउछाका अनुसार ११ जिल्लाका प्रतिनिधि गुल्मी आउने क्रम जारी छ। अधिवेशनमा करिब एक सय ६० प्रतिनिधि सहभागी हुनेछन्।