बाजुरामा तत्काल आवश्यक चामल ढुवानी गर्ने सर्वदलीय बैठकको निर्णय

मंगलबार, १५ फागुन, २०८०
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय बैठकले जिल्लालाई आवश्यक पर्ने चामल समयमै ढुवानी गर्न पहल गर्ने निर्णय गरेको छ। 

पर्याप्त मात्रामा चामल नहुँदा सदरमुकाम मार्तडीस्थित खाद्य कम्पनीको डिपोमा सर्वसाधारणको भिड लागेको विषयको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित भएसँगै सर्वदलीय बैठकले तत्काल ढुवानीको पहल गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय बैठकले जिल्लास्थित खाद्यको डिपोमा आवश्यक चामल थप्ने निर्णय गरेको बैठकका संयोजक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए। बैठकमा जिल्लामा क्रियाशील चार राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखा कार्यालयका प्रमुख सहभागी थिए।

ठेकेदारले समयमै चामल ढुवानी नगर्दा स्थानीय महँगो मूल्यमा बजारको चामल किनेर खानुपर्ने बाध्यतामा छन्। बजारमा ६२ रुपैयाँ प्रतिकिलो पर्ने मोटा चामल खाद्य संस्थानले ५९ रुपैयाँमै बिक्री गर्दै आइरहेको छ।

बैठकमा सहभागी नेपाली कांग्रेसका जिल्ला उपसभापति पदम बडुवालले बाजुरामा खाद्यान्न अभाव हुने अवस्था नभए पनि त्यस्तो सन्देश जाने गरेकाले अनुदान दिने मापदण्ड पनि तोकिनुपर्ने धारणा राखेका थिए। कृत्रिम अभाव सिर्जना भइरहेकाले यस्ता काम बन्द गरिनुपर्नेमा उनको जोड थियो।

यसैगरी, एमालेका जिल्ला अध्यक्ष भरत थापाले कार्यालय खडा गर्ने, तर समयमा चामल उपलब्ध नगराउने र उपलब्ध चामलमा पनि नाम मात्रैको अनुदान दिनु गलत रहेको भन्दै खाद्य संस्थानले उद्देश्यअनुसारको काम गर्नुपर्ने सुझाव दिए।

सुझावित समाचार