सुदूरपश्चिममा पाँच लाख बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाइँदै

आइतबार, १३ फागुन, २०८०
डिजिटल संस्करण

सुदूरपश्चिममा करिब पाँच लाख २३ हजार बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप लगाइने भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले बालबालिकालाई खोप लगाउन १३ फागुन (आज) देखि ७ चैतसम्म प्रदेशभरि खोप अभियान सञ्चालन गर्न लागिएको जनाएको छ।

नौ महिनादेखि पाँच वर्षसम्मका दुई लाख नौ हजार सात सय ५५ र पाँच महिनादेखि १५ वर्षसम्मका तीन लाख १४ हजार ८४ गरी पाँच लाख २३ हजार आठ सय ३९ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप दिन लागिएको प्रदेश स्वास्थ्य निर्देशक डा. जगदीश जोशीले जानकारी दिएका छन्।

दादुरा–रुबेलाको उच्च जोखिममा रहेका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा पाँच वर्षदेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई खोप लगाइने उनले बताए।

निर्देशनालयका अनुसार सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा भने नौ महिनादेखि पाँच वर्षसम्मका दुई लाख नौ हजार सात सय ५५ बालबालिकालाई खोप लगाइने लक्ष्य लिइएको छ।

सम्बन्धित स्वास्थ्य कार्यालयहरूलाई तराईमा दुई सय ५० र पहाडमा डेढ सय विद्यार्थी भएका विद्यालय तथा त्यसको आसपासमा खोप केन्द्र राख्न भनिएको निर्देशक जोशीले बताए। खोप अभियानलाई प्रभावकारी बनाउन आठ हजार तीन सय ४० जना स्वयंसेवक परिचालन गर्ने तयारी रहेको निर्देशनालयले जनाएको छ।

खोप केन्द्र राखिएका विद्यालयमा शिक्षकलाई समेत अभियानमा स्वयंसेवकको रूपमा खटाउने निर्देशनालयको तयारी छ। त्यस्तै, ६ हजार सात सय ६४ पटक स्वास्थ्यकर्मी खटिने निर्देशनालयले जनाएको छ। एक जिल्लामा कम्तीमा १५ दिन अभियान सञ्चालन हुने निर्देशक डा. जोशीले बताएका छन्।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आसुतोष श्रेष्ठले कैलालीमा नौ सय ६४ वटा खोप केन्द्रबाट दादुरा–खोप लगाइने जानकारी दिए। कैलालीमा आजबाट सुरु हुने यो अभियानका क्रममा जिल्लाभरि दुई सय ९२ जना स्वास्थ्यकर्मी परिचालन गरिने उनले बताए।

३ मंसिर ०७९ देखि १५ पुस ०८० सम्ममा सुदूरपश्चिममा एक सय १२ जनामा दादुरा रोग देखिएको निर्देशनालयको तथ्यांक छ। कैलालीमा ५६ जना, कञ्चनपुरमा ३८ र बाजुरामा १८ जनामा संक्रमण देखापरेको निर्देशक जोशीले जानकारी दिए। फेला परेका संक्रमितमध्ये करिब ७५ प्रतिशत बालबालिका रहेको बताइएको छ।

भारतसँग सिमाना जोडिएका कैलाली, कञ्चनपुरमा आयातित ‘केस’ हुने भएकाले उच्च जोखिममा रहेको मानिन्छ। दादुरा–रुबेला रोगबाट बच्नका लागि बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउन निर्देशनालयले आग्रह गरेको छ।
        
      
 

सुझावित समाचार