‘भारत रत्न’ सम्मान र मोदीको स्वार्थ

‘भारत रत्न’ सम्मानलाई मोदी सरकारले ‘चुनावी औजार’का रूपमा प्रयोग गर्न लागेको विश्लेषकहरूको भनाइ

सोमबार, ७ फागुन, २०८०
डिजिटल संस्करण

कर्पुरी ठाकुर र लालकृष्ण आडवाणीपछि मोदी सरकारले पूर्वप्रधानमन्त्री पिभी नरसिंह राव, चौधरीचरण सिंह र भारतमा हरित क्रान्तिका अगुवा मानिने कृषि वैज्ञानिक डा. एमएस स्वामिनाथनलाई ‘भारत रत्न’ दिने घोषणा गरेको छ । ‘भारत रत्न’ भारत सरकारले दिने सबैभन्दा ठूलो नागरिक सम्मान हो । चौधरीचरण सिंह देशका छैटौँ प्रधानमन्त्री थिए । तर, उनको कार्यकाल निकै छोटो थियो । २८ जुलाई १९७९ मा प्रधानमन्त्री पदको शपथ लिएका सिंहले १७० दिन मात्र शासन गरे । सदनमा विश्वासको मत हासिल गर्न असफल भएपछि उनले यति छिटै सत्ता छाड्नुपरेको थियो । चौधरीचरण सिंह भारतका ठूला किसान नेता थिए । १९७७ मा मोरारजी देसाईंको नेतृत्वमा जनता पार्टीको सरकार बनाउन उनको पार्टीको ठूलो योगदान थियो ।

पिभी नरसिंह राव भारतका १०औँ प्रधानमन्त्री हुन् । सन् १९९१ जुन २१ देखि १९९६ मे १६ सम्म भारतका प्रधानमन्त्री रहेका नरसिंह रावलाई भारतीय अर्थतन्त्रलाई उदारीकरण गरेको जस दिइन्छ । उनले भारतमा ठूलो आर्थिक सुधारको जग बसाले । प्रधानमन्त्री हुनुअघि उनी आन्ध्र प्रदेशका मुख्यमन्त्री र केन्द्रका गृहमन्त्री पनि थिए । एमएस स्वामिनाथनलाई भारतमा ‘हरित क्रान्तिका अगुवा’ मानिन्छ । उनले सन् १९६० र १९७० को दशकमा भारतीय कृषि क्षेत्रमा ठूलो क्रान्तिकारी प्रविधि प्रयोगमा ल्याए । यसले त्यहाँको खाद्य सुरक्षाको लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्यो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यी तीन दिग्गजलाई भारत रत्न घोषित गरेपछि तिनको योगदानलाई सम्झँदै ट्विट गरेका थिए । 

तर, भारतीय राजनीतिक वृत्तमा भने पन्ध्र दिनभित्र कर्पुरी ठाकुर, लालकृष्ण आडवाणी, पिभी नरसिंह राव र चौधरीचरण सिंहलाई भारतको सर्वोच्च नागरिक सम्मान दिने घोषणालाई चुनावी राजनीतिसँग जोडेर व्याख्या भइरहेको छ । चुनावको मुखमा धेरैजनालाई एकैपटक ‘भारत रत्न’ सम्मान दिएर नरेन्द्र मोदीले चुनावी समीकरण मिलाउन खोजेको बताइएको छ । वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक नीलाञ्जन मुखोपाध्याय भन्छन्, ‘प्रधानमन्त्री मोदीले यो पूर्णतः चुनावलाई ध्यान दिएर चालेका कदम हुन् । चुनाव आउनासाथ उनलाई कर्पुरी ठाकुरको याद आएको छ । त्यस्तै जो आडवाणीलाई राम मन्दिरको प्राणप्रतिष्ठा समारोहमा बोलाइएन उनलाई अहिले आएर भारत रत्न दिइएको छ । आडवाणीलाई यो सम्मान दिएर मोदीले चुनावअघि राष्ट्रिय स्वयंसेवक संघसँगको मतभेद अन्त्य गर्न खोजेजस्तो देखिन्छ ।’ 

भारतीय राजनीतिक वृत्तमा कर्पुरी ठाकुर, लालकृष्ण आडवाणी, पिभी नरसिंह राव र चौधरीचरण सिंहलाई भारतको सर्वोच्च नागरिक सम्मान दिने घोषणालाई चुनावी राजनीतिसँग जोडेर व्याख्या भइरहेको छ । चुनावको मुखमा धेरैजनालाई एकैपटक ‘भारत रत्न’ सम्मान दिएर नरेन्द्र मोदीले चुनावी समीकरण मिलाउन खोजेको बताइएको छ ।
 

त्यस्तै मोदीले प्रतिद्वन्द्वी दल कंग्रेसबाट प्रधानमन्त्री बनेका नरसिंह रावलाई समेत ‘भारत रत्न’ दिएका छन् । यो पनि उनको रणनीतिक चालअन्तर्गत भएको केहीले मानेका छन् । मोदी बारम्बार कंग्रेसलाई एक परिवार(गान्धी)को पार्टी भएको आरोप लगाउँछन् । मोदीले नरसिंह रावलाई ‘भारत रत्न’ दिएर उनी एक सक्षम प्रधानमन्त्री रहेको, तर गान्धी परिवारबाट नभएकाले उनलाई कंग्रेसले उपेक्षा गरेको देखाउन चाहेको विश्लेषकको विश्वास छ । अर्थात्, उनी कंग्रेसलाई क्षमता नचिन्ने पार्टी प्रमाणित गर्न चाहन्छन् । 

राजनीतिक विश्लेषक नीलाञ्जन पछिल्लो भारत रत्न सम्मानलाई प्रम मोदीको आगामी चुनावमा चार सयभन्दा बढी सिट जित्ने दाबीको परिप्रेक्षमा हेरिनुपर्ने बताउँछन् । पछिल्लो समय राम मन्दिरको प्राणप्रतिष्ठा, कल्याणकारी योजनाको घोषणा र ठूलै प्रचारप्रसारका अतिरिक्त उनले देशका विभिन्न समुदायलाई खुसी पार्न तिनका समुदाय दिग्गजलाई भारत रत्न दिइरहेका छन् । भाजपाले चुनावअघि ससाना दलसँग समेत गठबन्धन गर्ने प्रयास गरेको देखिएबाट चुनावमा धक्का लाग्ने डरले उनलाई सताएको हुन सक्ने केहीको विश्लेषण छ । 

विश्लेषकहरू ‘भारत रत्न’ सम्मानलाई मोदी सरकारले ‘चुनावको औजार’का रूपमा प्रयोग गर्न लागेको बताइरहेछन् । भारतको संविधानको धारा १८(१) मा ‘भारत रत्न’ सम्मानबारे उल्लेख छ । यो सम्मान सन् १९५४ मा स्थापना भएको थियो र नियमअनुसार एक वर्षमा तीनजनालाई मात्र यो सम्मान दिइन्छ । तर, यसपटक मोदी सरकारले पाँच दिग्गजलाई ‘भारत रत्न’ले सम्मानित गरेको छ । यसअघि एकै वर्ष सबैभन्दा धेरै यो सम्मान सन् १९९९ मा चारजनालाई दिइएको थियो । यो वर्ष मोदी सरकारले सो रेकर्डलाई उछिनेको छ ।

चुनावको मुखमा पाँचजना दिग्गजलाई ‘भारत रत्न’ दिने घोषणालाई व्यंग्य गर्दै वरिष्ठ पत्रकार हेमन्त अत्री भन्छन्, ‘यी ‘भारत रत्न’ होइनन्, ‘चुनाव रत्न’ हुन् । यी चुनावी समीकरण गणनाका लागि दिइएको छ । कर्पुरी ठाकुरलाई भारत रत्न दिने घोषणापछि नितीश कुमारको सरकार पल्टियो । त्यसैगरी, चौधरीचरण सिंहलाई भारत रत्न घोषणा गरिएपछि राष्ट्रिय लोकदल (आरएलडी)का जयन्त चौधरीले भाजपासँग गठबन्धन गर्ने संकेत गरे ।’ चौधरीचरण सिंहलाई भारत रत्न दिने घोषणा हुनासाथ उनका नाति तथा आरएलडी प्रमुख जयन्त चौधरीले अब माग्न के नै बाँकी रह्यो र भन्ने टिप्पणी गरे । उनी अब भाजपा नेतृत्वको गठबन्धन एनडिएमा सामेल हुँदै छन् । अहिले सिट बाँडफाँडको विषयमा पनि छलफल भइरहेको बताइन्छ ।’ 

आखिर किन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावअघि नै दिग्गज किसान नेता चौधरीचरण सिंहलाई ‘भारत रत्न’ दिने घोषणा गरे ? के उनलाई दुई महिनापछि हुने लोकसभा चुनावमा उत्तर प्रदेशको पश्चिमको ‘जाट बेल्ट’मा सिट गुम्ला भन्ने डर छ ? यस प्रश्नको जवाफमा हेमन्त अत्री भन्छन्, ‘किसानहरू आफ्ना माग लिएर १३ महिना दिल्लीबाहिर धर्नामा बसे । तर, उनीहरूको माग पूरा भएन । तर, अहिले चौधरीचरण सिंह र एमएस स्वामिनाथनलाई भारत रत्न दिने घोषणा गरेर मोदीले प्रतीकात्मक राजनीति गरिरहेका छन् । किसानका सबैभन्दा ठूला शुभेच्छुक चरण सिंह र स्वामिनाथनलाई यस सरकारले देशको सर्वोच्च नागरिक सम्मान दिएको प्रचार भइरहेको छ । किसानलाई अरू के चाहिन्छ ? यो मोदी सरकारको गजबको राजनीति हो ।’

कृषि नीति विषयका जानकार देविन्दर शर्मा पनि चौधरीचरण सिंहलाई ‘भारत रत्न’ दिने उद्देश्यपछाडि आरएलडीलाई भाजपा नेतृत्वको एनडिएमा ल्याउने रणनीतिले काम गरेको बताउँछन् । उनका अनुसार एमएस स्वामिनाथन भारतमा कृषि उत्पादकत्व बढाउन चलेको हरित क्रान्तिका अगुवा थिए । तर, स्वामिनाथन आयोगको सिफारिस गरेअनुरूप किसानलाई ‘न्यूनतम समर्थन मूल्य’ नदिने वर्तमान सरकारले एमएस स्वामिनाथनलाई ‘भारत रत्न’ घोषणा गर्नुलाई प्रतीकवादी राजनीति मात्र भएको बताए । 

केही विश्लेषकका अनुसार सन् २०१३ मा मुजफ्फरनगरमा जाट र मुस्लिमबीच दंगा भड्किएपछि, ठूलो संख्यामा जाट समुदायका मतदाता आरएलडी छाडेर भाजपामा सामेल भएका थिए । उनीहरूले त्यतिवेला असुरक्षाका कारण जाट पहिचान बिर्सिएर हिन्दू बनेको बताइन्छ । उत्तर प्रदेशका पश्चिमी भाग जाट र मुस्लिमबहुल क्षेत्र हो । सन् २०१९ को चुनावमा भाजपाले यस भेगमा रहेको कुल २७ लोकसभा सिटमध्ये १९ सिट जितेको थियो । यति बलियो स्थिति हुँदाहुँदै पनि भाजपा किन यहाँ अहिले जाट समुदायको पार्टी भनेर चिनिने आरएलडीसँग गठबन्धन गर्दै छ ?

वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक शरद गुप्ता भन्छन्, ‘यसपटकको बजेटमा मोदी सरकारले कुनै आकर्षक घोषणा गरेन । न मध्यम वर्गलाई करमा छुट दिइयो, न किसान सम्मान निधि बढाइयो । चुनावको वर्षमा ल्याइएको बजेटमा आकर्षक योजना नहुनुको अर्थ मोदी सरकार चुनाव जित्नेमा पूर्ण विश्वस्त छ भन्ने हो । तर, नरेन्द्र मोदी–अमित शाहको जोडी विजयमा होइन, अभूतपूर्व विजयमा विश्वास गर्छ । अर्थात्, उनीहरूको शैली भनेको कतै चार सिट चार हजार मतान्तरले जितिँदै छ भने त्यसलाई कसरी ५० हजारको अन्तरले जित्ने भन्नेमा ध्यान दिने हो ।’

शरद गुप्ताका अनुसार भाजपा धमाकेदार जितका लागि आरएलडीदेखि जितनराम माझीको हिन्दुस्तान अवाम मोर्चा (सेक्युलर) जस्ता स–साना दलसँग गठबन्धन गर्ने गर्छ । यी दल एक्लैले चुनाव जित्न नसके पनि उनीहरूको भोटले भाजपाको शक्ति धेरै गुना बढाउँछ । उनका अनुसार भाजपा दुई र दुई जोडेर बीस बनाउन चाहन्छ । नभए भाजपाले पूर्वप्रधानमन्त्री नरसिंह रावलाई ‘भारत रत्न’ दिएर आकर्षित हुने कुनै समुदाय नरहेकोप्रति उनी ध्यान दिन भन्छन् । उनका अनुसार यसमार्फत प्रधानमन्त्री मोदीले कंग्रेसको कथित वंशवादप्रति प्रकाश पार्न खोजेका छन् । ‘उनी सम्झाउन चाहन्छन् कि भाजपाले त्यो प्रधानमन्त्रीलाई सम्मान दिएको छ, जसको दिवंगत शव कंग्रेसको कार्यालयभित्र ल्याउन दिइएन । अर्थात्, कंग्रेसमा परिवारवाद कति हाबी छ भन्ने देखाउन चाहन्छन् । यदि भाजपाले मनमोहन सिंहलाई भारत रत्न दिने घोषणा ग¥यो भने पनि त्यो अचम्म हुनेछैन,’ शरद गुप्ताले भने । 

नीलाञ्जन मुखोपाध्याय पनि यो कुरा स्विकार्छन् । ‘भाजपाभित्र पहिलेदेखि एक परम्परा छ, नरसिंह रावलाई भाजपाबाट बनेका प्रधानमन्त्रीपछि सबैभन्दा सक्षम प्रधानमन्त्री मान्ने । त्यसैले भाजपाले अहिले उनलाई सम्मान गरेको छ । उनलाई सम्मानित गरेर मोदीले कंग्रेसभित्रको बलियो परिवारवादका कारण अपमानित भएका सक्षम प्रधानमन्त्रीलाई आफूले सम्मान गरेको देखाउन खोजेका छन्,’ मुखोपाध्यायले भने । 
बिबिसी हिन्दीबाट

See More On

सुझावित समाचार