गुल्मीमा मापदण्डविपरीत सञ्चालित दुई एग्रोभेट सेन्टर सिल

आइतबार, ६ फागुन, २०८०
डिजिटल संस्करण

गुल्मीको तम्घासमा मापदण्डविपरीत सञ्चालनमा रहेका दुई एग्रोभेट सेन्टरलाई जिल्ला प्रशासन कार्यालय गुल्मीले सिल गरेको छ। आइतबार दुर्गा एग्रोभेट सेन्टर र मुसिकोट एग्रोभेट सेन्टरलाई सिल गरिएको कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा खटिएको टोलीले एग्रोभेटहरूमा सिल गरेको हो। रेसुंगा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष हीराबहादुर थापा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, प्रहरी र पत्रकारसमेतको उपस्थितिमा एग्रोभेट सेन्टर बन्द गरिएको हो। 

औषधि व्यवस्था विभागले दुवै एग्रोभेट सेन्टरको अनुगमन गरेको र इजाजत-पत्र लिन अनुरोध गरेको थियो। तर, सञ्चालकले अटेरी गरेपछि जिल्ला प्रशासन कार्यालयले सिल गरेको टोलीका नेतृत्वकर्ता दिनेश ज्ञवालीले जानकारी दिए। अनुसन्धानपछि अवस्था हेरेर थप निर्णय हुने सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए।

जिल्ला प्रशासन कार्यालयले नियमविपरीत काम गर्ने दुई आयुर्वेदिक औषधि पसललाई पनि १५ माघमा सिल गरेको थियो। कानुनविपरीत रमेश अधिकारीले सञ्चालन गरेको सम्पन्न आर्युवेद औषधि पसल र श्रीमती कमला पाण्डेयले सञ्चालन गरेको सफल होमियोप्याथिक औषधि पसलमा सिल गरेर अनुसन्धानपछि एक–एक लाख जरिवाना गरेको थियो।

सुझावित समाचार