एमाले कैलालीको अधिवेशन आजबाट, अध्यक्षमा तीनजनाको दाबी

आइतबार, ६ फागुन, २०८०
डिजिटल संस्करण

नेकपा एमाले कैलालीको अधिवेशन आज सुरु हुँदै छ। एमाले अध्यक्ष केपी ओलीले घोडाघोडी नगरपालिकाको सुखडमा दिउँसो अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। दुई दिनसम्म चल्ने अधिवेशनले जिल्लाको नयाँ कार्यसमिति चयन गर्नेछ।

एमालेको जिल्ला अध्यक्षमा तीनजनाले दाबी गरेका छन्। अध्यक्षसहित नेतृत्वका आकांक्षीले पार्टी जिल्ला इन्चार्जसमक्ष गत बिहीबार दाबीपत्र पेस गरेका हुन्।

अध्यक्षमा दुर्गा जोशी, यज्ञराज ढुंगाना र डेजी पाण्डेयले दाबी गरेका छन्। जोशी एमालेको हालका कार्यवाहक जिल्ला अध्यक्ष हुन्। त्यस्तै, पाण्डेय जिल्ला सचिव र ढुंगाना प्रदेशका पूर्वसचिवालय सदस्य हुन्।

एमालेले अधिवेशन सुरु हुनुअघि नै नेतृत्वका आकांक्षीलाई जिल्ला इन्चार्जसमक्ष दाबीपत्र बुझाउन समय दिएको थियो। उपाध्यक्षमा आठजना, सचिवमा १२ र दुई उपसचिवका लागि ३० जनाको दाबी परेको एमाले कैलालीले जनाएको छ। आकांक्षीले दाबी पेस गरेको चार दिनसम्म सहमति हुन सकेको छैन।

सहमतिको सम्भावना कम रहेको भन्दै उम्मेदवार चुनावी दौडधुपमा छन्। एमाले जिल्ला इन्चार्ज गणेशसिंह ठगुन्नाले भने सहमतिमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताए।
 

सुझावित समाचार