आयल निगमको कार्यकारी निर्देशकका लागि अन्तिम तीनजना छनोट, आगामी मन्त्रिपरिषद्ले नियुक्त गर्ने

शनिबार, ५ फागुन, २०८०
डिजिटल संस्करण

नेपाल आयल निगम लिमिटेडको रिक्त कार्याकारी निर्देशक पदका लागि गठित पदपूर्ति समितिले व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि अन्तिम तीन उम्मेदवारको टुंगो लगाएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद दुवाडी शर्माको संयोजकत्वमा गठित समितिले दरखास्त दिएका १३ उम्मेदवारको गत २ फागुनदेखि शनिबार बिहानसम्म व्यावसायिक कार्यायोजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिएको थियो।

त्यसमध्ये गोरखाका चण्डिकाप्रसाद भट्ट, चितवनका डोलप्रसाद चापागाईं र ललितपुरका शत्रुध्नप्रसाद पुडासैनीलाई नियुक्तिका लागि सिफारिस गरेको हो। समितिले गरेको सिफारिसअनुसार निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि उद्योगमन्त्री रमेशप्रसाद रिजालले आगामी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।

‘आउँदो मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगिने र तीनमध्ये एकजनालाई नियुक्ति गर्ने तयारी छ,’ मन्त्रालय स्रोतले भन्यो। अन्य कुरा यथावत् रहेको अवस्थामा आगामी सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने र सोही बैठकले एकजनालाई निगमको कार्यकारी निर्देशकमा नियुक्ति दिने सम्भावना छ।

सिफारिस भएकामध्ये भट्टको  नियुक्ति हुने सम्भावना प्रबल रहेको स्रोतको भनाइ छ। उनी विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)का कार्यकारी निर्देशक हुन्। खुला प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त आह्वान हुन थालेयता उनले प्रत्येकपटक आवेदन दिँदै आएका छन्। भट्टले निगममा नियुक्ति लिन शक्ति केन्द्रसमेत रिजाइसकेको स्रोतको भनाइ छ।

त्यसैगरी, चापागाई‌ र पुडासैनीले समेत नियुक्तिका लागि प्रधानमन्त्री कार्यालय र नेपाली कांग्रेसका नेताहरूसँग बाक्लो भेटघाट बढाइरहेका छन्। वार्षिक करिब तीन खर्ब रुपैयाँको कारोबार गर्ने आयल निगम मुलुकको सबैभन्दा ठूलो कारोबार गर्ने कम्पनी हो। त्यसैले, निगमको कार्यकारी निर्देशकको नियुक्ति लिन तोकिएको योग्यताबाहेक शक्ति केन्द्रको ‘आशीर्वाद’समेत लिने गरिएको छ।

सुझावित समाचार