चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आजदेखि : स्वस्थ लघुवित्त, समृद्ध सदस्य

शनिबार, ५ फागुन, २०८०
डिजिटल संस्करण

बैंकको पहुँचमा नपुग्ने गरिब तथा विपन्न वर्गलाई सेवा दिने लघुवित्त क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे छलफल गर्दै आगामी रणनीति बनाउन शनिबार र आइतबार (०८० फागुन ५–६) काठमाडौंमा चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुँदै छ । स्वावलम्बन विकास केन्द्रको आयोजनामा हुने लागेको सम्मेलनमा नियामक, नीतिगत र सरकारी निकायका प्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, सेवाग्राही सदस्य, जनप्रतिनिधि गरी सात सयभन्दा बढीको सहभागिता रहने आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम रहेको छ । 

नेपालमा विगत १०–१२ वर्ष लघुवित्त क्षेत्रका लागि सुनौला दिन रहे पनि पछिल्लो समय केही समस्या देखिएकाले त्यसलाई पहिचान गर्दै निराकरण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले जानकारी दिए । ‘लघुवित्त क्षेत्रको पुनर्संरचना र पनुर्जागरण गर्नुपर्ने आवश्यकता देखिएको छ,’ उनले भने, ‘त्यसका लागि सम्मेलन प्रभावकारी बन्ने अपेक्षा गरेका छौँ ।’ त्यसका लागि सम्मेलनको नारा नै स्वस्थ लघुवित्त, समृद्ध सदस्य राखिएको उनले बताए । 

विश्वका एक सय ७८ वटा देशमा सञ्चालन भइरहेको लघुवित्त मोडल ग्रामीण अर्थतन्त्रको पुनर्संरचनाका लागि उपयुक्त रहेको श्रेष्ठले दाबी गरे । तर, पछिल्लो समय देखिएका केही विकृतिले गर्दा नेपालमा लघुवित्त सेवा बदनाम हुन थालेको भन्दै यसलाई सुधार गर्न जरुरी देखिएको उनले औँल्याए । त्यसैले सम्मेलन लघुवित्त सेवालाई स्वच्छ, स्वस्थ र सक्षम बनाउन तथा लक्षित वर्गको सामाजिक, आर्थिक समृद्धि स्थापित गर्ने अस्त्रका रूपमा अगाडि बढाउने उपाय खोज्न केन्द्रित हुनेछ । यसका साथै हरेक लघुवित्त संदस्यलाई उद्यमी बनाई आत्मनिर्भर बनाउनेतर्फ विशेष जोड दिने उनले बताए । अहिले युवापुस्तामा बिदेसिने लहर चलेको भन्दै त्यसलाई रोक्न लघुवित्तले भूमिका खेल्नुपर्ने उनको जोड थियो । 

लघुवित्त संस्थाले वित्तीय सेवासँगै शिक्षा, तालिम, सामाजिक काम गर्नुपर्नेमा आफ्नो भूमिका बिर्सिँदै गएको श्रेष्ठले गुनासो गरे । लघुवित्तले बढी ब्याज लिएको गुनासो सुनिए पनि यो ब्याजदर दक्षिण एसियामै न्यून रहेको उनले दाबी गरे । 

हाल लघुवित्त वित्तीय संस्था र लघुवित्त गर्ने सहकारी संस्थाले नेपालका ७७ वटै जिल्लामा पुगेर लघुवित्त सेवा प्रदान गरिरहेका छन् । हाल ५७ वटा लघुवित्त संस्थाले पाँच हजार ८२ शाखामार्फत करिब ६० लाखलाई लघुवित्तमा आबद्ध गरेका छन् । यसमध्ये २८ लाख सदस्यले लघुवित्त गर्ने संस्थाबाट ऋण लिएर व्यवसाय गरिरहेका छन् । लघुवित्त गर्ने संस्थाले चार खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी पनि गरेका छन् । लघुवित्तबाहेक ५० वटाजति लघुवित्त सञ्चालन गर्ने सहकारी संस्था पनि क्रियाशील रहेको आयोजकले जानकारी दिएको छ ।  

तर, देशको समग्र आर्थिक गतिविधिमा आएको सुस्तता, लघुवित्त कारोबार गर्ने संस्थाबीच अधिक प्रतिस्पर्धा, लघुवित्तप्रति आमसर्वसाधारणमा भ्रम सिर्जना गर्ने समूहको सक्रियतालगायतका कारण नेपालको लघुवित्त क्षेत्र विषम परिस्थितिबाट गुज्रिरहेको छ । यस्तै लघुवित्त सञ्चालन गर्ने संस्थाको कर्जा असुली प्रभावित हुँदा खराब कर्जा वृद्धि भइरहेको छ । लघुवित्त सेवाप्रति समाजमा फैलिएको गलत सन्देशका कारण व्यवसाय विस्तार गर्न अप्ठ्यारो परिस्थिति सिर्जना भएको बताइएको छ । 

कोभिड–१९ को महामारी र जलवायु परिवर्तनको कहर, रोजगारीको अभाव, बिदेसिँदो युवा श्रम शक्ति तथा उपभोग्य वस्तुको बढ्दो आयात, विभिन्न देशबीच बढेको द्वन्द्वका कारण सिर्जना भएको आर्थिक मन्दीले प्रभावित भएका तल्लो वर्गका विपन्न नागरिकलाई माथि उठाउने दायित्व लघुवित्त संस्थामाथि थपिएको छ । यो अवस्थामा लघुवित्तमा देखापरेका समस्या र चुनौतीको लेखाजोखा गरी लघुवित्त क्षेत्रलाई समयसापेक्ष बनाउन सबै सरोकारवाला एकै थलोमा बसेर आ–आफ्ना भोगाइ, सिकाइ, अनुभव र ज्ञानको आदानप्रदान र विचारको मन्थन गर्न सम्मेलन प्रभावकारी हुने आयोजकले दाबी गरेको छ । 

केन्द्रले प्रत्येक दुई वर्षमा लघुवित्त सदस्य सम्मेलनको आयोजना गर्दै आएको छ । ‘उद्यमशीलताको विकास, गरिबी निवारणको निकास’ नारासहित पहिलो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन ०७३ सालमा, ‘स्वच्छ लघुवित्त, हाम्रो अभियान’ नाराका साथ दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन ०७५ सालमा र ‘घरघरमा उद्यम फैलाऔँ, गरिबीलाई शून्य बनाऔँ’ भन्ने नाराका साथ तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन ०७८ सालमा सम्पन्न भएको थियो । 

सुझावित समाचार