आइसिसी विश्वकप लिग–२ : नामिबियासँग नेपाल चार विकेटले पराजित

शुक्रबार, ४ फागुन, २०८०
डिजिटल संस्करण

घरेलु टोली नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत २०२४–२७ को पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार पहिले ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३२ रनमा समेटियो । नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाउँदै सहजै लक्ष्य भेट्टायो । जितसँगै नामिबियाले दुई अंक बटुलेको छ । नेपालले हारबाट विश्वकप लिग–२ को सुरुवात गरेको छ । यसअघि पहिलो ब्याटिङ गर्न अवसर पाएको नेपालले त्रिवि क्रिकेट मैदानमा फितलो प्रदर्शन गरेको थियो । शीर्ष जिम्मेवार ब्याट्सम्यान चल्न नसक्दा नामिबिया खेलमा हाबी भएको थियो । 

नेपाललाई अलआउट पार्ने क्रममा नामिबियाका बलर ग्रेहार्ड इरास्मुसले घातक बलिङ गरेका थिए । उनले ८.१ ओभरमा २८ रन खर्चेर पाँच विकेट लिए । नेपालले नामिबियाविरुद्ध ब्याटिङ इनिङ्समा कुनै पनि समयमा चुनौती प्रस्तुत गर्न सकेन । शीर्ष चार ब्याट्सम्यान केवल २१ रनभित्र पेभेलियन फर्केपछि नामिबियाले खेल पूरै नियन्त्रणमा लियो । ओपनर कुशल (०), आसिफ शेख (४), अनिल साह (८) र कप्तान रोहितकुमार पौडेल (१) रनमा आउट हुँदा नेपाल ९.३ ओभरमा २१÷४ को कमजोर अवस्थामा थियो । 

नेपालको ब्याटिङमा भीम सार्की र कुशल मल्लले पाँचौँ विकेटका लागि ४६ रनको साझेदारी गरी सुधार गरे । उनीहरूले नेपाललाई १९.५ ओभरमा ६७÷५ को स्थितिमा राखे । कुशलले २२ बलमा एक चौका र एक छक्काको सहयोगमा १५ रनको योगदान दिए । इनिङ्सको २७.४ ओभरमा भीमले आफ्नो विकेट गुमाए । उनले ८६ बलमा दुई चौका र एक छक्का प्रहार गरी ४४ रनको योगदान दिए ।

पुछारका गुलसन झाले ३१ बलमा तीन चौकाको सहयोगमा २१ रन र पवन सर्राफले २२ बलमा १२ रन जोडे । एकपटक जीवनदान प्राप्त गरेका करण केसीले ३५ बलमा तीन चौकाको सहयोगमा १६ रन बटुले । नामिबियाको बलिङमा ज्याक ब्रसेलले पाँच ओभरमा एक मेडन राखी ११ रन खर्चेर दुई विकेट लिए । रुवेन ट्रम्पेल्मानले १० ओभरमा ३० रन खर्चंदै दुई विकेट लिए । 

४२ रनको बलियो साझेदारी
नामिबियाको जितमा अलराउन्डर जान निकोल इटन र जेजे स्मिटले छैटौँ विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए । यही साझेदारी नै नामिबियाको जितको आधार बन्यो । स्मिटले ३५ बलमा समान एक चौका र छक्का प्रहार गरी १७ रन जोडेका थिए । इटनले ३० बलमा पाँच चौकाको सहयोगमा ३१ रनको योगदान दिए । जान फयालिनले ५३ बलमा ३४ रनको योगदान दिए । ओपनर माइकल भानले ३३ बलमा तीन चौकाको सहयोगमा २३ रन जोडे । नेपालका लागि सोमपाल कामीले ३२ रन खर्चेर तीन विकेट लिए । ललित राजवंशीले दुई र रोहित पौडेलले एक विकेट हात पारे । 

 त्रिवि मैदानमा अपराजित यात्रामा ‘ब्रेक’
त्रिवि क्रिकेट मेदानमा नेपालको लगातार १५औँ एकदिवसीय खेलको अपराजित यात्रामाथि नामिबियाले ‘ब्रेक’ लगाएको छ । आइसिसी विश्वकप लिग–२ मा नामिबियासँग चार विकेटको हारसँगै नेपालको त्रिवि मैदानमा लगातार १५ खेलको जितयात्रा समाप्त भएको हो । बिहीबार नामिबियासँग पराजित हुनुअघि नेपालले २०२२ नोभेम्बरयता यस मैदानमा कुनै पनि एकदिवसीय खेलमा हारको सामना गरेको थिएन । सन् २०२२ मा नेपालले युएईसँग दुई, आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २०२३ का आठ खेल, एसिसी प्रिमियर कपमा दुई र क्यानडासँग तीन गरी लगातार १५ खेलमा जित निकालेको थियो । 

२०२२ नोभेम्बरमा युएईविरुद्धको तीन खेलमध्ये पहिलोमा नेपाल पराजित भएको थियो । गत वर्षको फेब्रुअरीमा नेपालले विश्वकप लिग–२ मा नामिबिया र स्कटल्यान्डलाई हराएको थियो । यसैगरी मार्चमा विश्वकप लिग–२ मै युएई र पपुवा न्युगिनीलाई नेपालले निराश पारेको थियो । गत वर्ष भएको एसिसी प्रिमियर कपको समूह चरणमा नेपालले ओमान र फाइनलमा यूएईलाई पराजित गरेको थियो । यसै साता क्यानडाविरुद्ध तीन खेलको सिरिजमा नेपालको क्लिनस्विप गरेको थियो । 

यसैबीच, प्रशिक्षक मोन्टी देसाईंको प्रशिक्षणमा नेपालको घरेलु मैदानमा लगातार १३ खेलको अपराजित यात्रा समाप्त भएको छ । गतवर्ष फागुनमा मोन्टी नेपालका मुख्य प्रशिक्षक बनेका थिए । मोन्टीको प्रशिक्षणमा नेपाल अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा घरेलु मैदानमा पराजित भइसकेको छ । गत नोभेम्बरमा आइसिसी टी–२० विश्वकप छनोटमा नेपाल समूह चरण र फाइनलमा ओमानसँगै पराजित भएको थियो । 

शीर्ष ब्याट्सम्यान जिम्मेवार भएनन्
रोहितकुमार पौडेल, कप्तान, नेपाल

क्रिकेटमा सुरुवातको ४५ मिनेट महत्वपूर्ण मानिन्छ । आज नामिबियाका बलरले पिचको कन्डिसनअनुसार राम्रो बलिङ गरेका थिए । उनीहरूले पिचको अवस्था राम्रोसँग बुझेका थिए । हाम्रा शीर्ष ब्याट्सम्यानलाई आउट पार्न उनीहरूले योजनाअनुसारै बलिङ गरेका थिए । हाम्रो शीर्ष अर्डरका ब्याट्सम्यानले जिम्मेवारीपूर्वक ब्याटिङ गर्न सकेनन् । सुरुका चार ब्याट्सम्यान गम्भीर भएर खेल्नुपर्ने थियो ।  

ठूलो साझेदारी हुन सकेन
मोन्टी देसाईं, प्रशिक्षक, नेपाल

नामिबियाविरुद्ध ठूलो साझेदारी हुनुपर्ने थियो । इनिङ्समा एक मात्र गतिलो साझेदारी भएको थियो । यदि थप एउटा राम्रो साझेदारी भएको भए खेलको अवस्था फरक पर्ने थियो । पावर प्लेमै चार विकेट गुमाएपछि हामी पछाडि पर्‍यौँ । कुशल र भीमको साझेदारीले केही मद्दत गर्‍यो । अर्को एउटा राम्रो साझेदारी भएको भए नेपालले सहजै २४० को स्कोर बनाउन सक्थ्यो । आजको हारबाट टिमले धेरै कुरा सिक्ने अवसर पाएको छ । हार हाम्रा लागि अवसर हो ।  

सुझावित समाचार