पोखरामा जारी मनमोहन मेमोरियल कप यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले लगातार दोस्रो जित हात पारेको छ भने लुम्बिनी प्रदेशले पहिलो जित दर्ता गरेको छ।
मनमोहन मेमोरियल क्रिकेट एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न पहिलो खेलमा मधेशले सुदूरपश्चिम प्रदेशलाई ११ रनले पराजित गरेको हो। आजै भएको दोस्रो खेलमा लुम्बिनीले आयोजक मनमोहन मेमोरियललाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
यसअघि मंगलबार मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई १२ रनले पराजित गरेको थियो।
बिहीबार पहिलो टस जितेर ब्याटिङ रोजेको मधेशले पूरै २५ ओभर खेल्दै आठ विकेट गुमाएर एक सय ३५ रनको योगफल तयार गरेको थियो। एक सय ३६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङका लागि मैदान उत्रेको सुदूरपश्चिम २४.४ ओभरमा सबै विकेट गुमाएर एक सय २४ रनमा समेटियो।
मधेशका लागि ओपनर राहुल अन्सारीले ५८ बलमा तीन चौका र एक छक्कासहित टोलीका लागि सर्वाधिक ४९ रन जोड्दा एमडी अमनले ४२ र आदित्यप्रसाद मण्डलले १५ रन जोडेका थिए।
सुदूरपश्चिमका लागि ओपनर सचिन साउदले ५२ बलमा पाँच चौकासहित ४५, निरञ्जन गौतमले २३, निरज ऐरले २० र राजेश ऐरले १२ रन जोड्दा टोलीका अन्य खेलाडीले दाहोरो अंक जोड्न सकेनन्।
खेलमा सुदूरपश्चिमका डम्बर माझीले पाँच ओभर खेल्दै एक मेडर्नसहित १९ रन खर्चेर ६ विकेट हात पारेका थिए। खेलका म्यान अफ द म्याचसमेत रहेका मधेशका चन्दन रामले ४.४ ओभर खेल्दै १६ रन खर्चेर पाँच विकेट हात पारे।
यसैगरी, दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले २४ ओभरमा सम्पूर्ण विकेट गुमाएर एक सय ५१ रन जोडेको थियो। एक सय ५२ रनको लक्ष्य पाएको मनमोहनले १३.४ ओभरमै सबै १० विकेट गुमाउँदै ६६ रनमा सीमित हुन पुग्यो। लुम्बिनीका लागि खेलका म्यान अफ द म्याचसमेत रहेका ओपनर रौनक श्रीवास्तवले ३० बलमा तीन चौका र दुई छक्कासहित ३४, अर्का ओपनर स्वस्तिक पराजुलीले ५५ बलमा पाँच चौकासहित ३४, अजुल हकले २३ र आरिफ खानले १२ रन बनाउँदा टोलीका अन्य खेलाडीले दाहोरो अंक जोड्न सकेनन्।
मनमोहनका लागि सुजन रोकायाले १६ बलमा दुई चौका र एक छक्कासहित २० रन जोड्दा टोलीका अन्य खेलाडीले दाहोरो अंकको योगफल तयार गर्न सकेनन्। चार खेलाडी कुनै अंक नजोडी मैदानबाट बाहिरिएका थिए।
लिग कम नकआउटका आधारमा ७ फागुनसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र आयोजक मनमोहन मेमोरियलको एक गरी आठ टोली सहभागी छन्। प्रतियोगिताको विजेताले नगद एक लाख र उपविजेताले नगद ५० हजार पाउनेछन्। विधागत रूपमा उत्कृष्ट हुने खेलाडीहरूले खेल सामग्री र नगद पुरस्कार पाउनेछन्।