‘फ्यान’बाट झाँगिएको सम्बन्ध हत्यासम्म

मंगलबार, १ फागुन, २०८०
डिजिटल संस्करण

दोलखाको जिरीस्थित हिमाली एफएममा ‘मेरो साथी’ नामक रेडियो कार्यक्रम चलाउँथे, दोलखा बैतेश्वर गापा–७ का ३८ वर्षीयकुमार श्रेष्ठ । उनकी ‘डाइहर्ट फ्यान’ थिइन्, रामेछाप लिखु तामाकोशी गापा–५ की २८ वर्षीया प्रमिला दमाईं । सम्बन्ध झाँगिँदै गएर ‘लिभिङ रिलेसनसिप’सम्म पुग्यो । अन्ततः सोही सम्बन्ध हत्याको कारण बन्यो । 

प्रमिलाको शव २७ माघमा गौशालास्थित सिराहा धनुषा होटेल एन्ड लजको कोठा नम्बर १०८ मा भेटिएको थियो । हत्यामा संलग्न थिए, उनैका प्रेमी कुमार । १० वर्षअघि श्रेष्ठ जिरीस्थित हिमाली एफएममा रेडियो कार्यक्रम चलाउँथे । रेडियोको तरंग रामेछापभर सुनिन्थ्यो । कुमारले कार्यक्रममार्फत ‘प्रेम र सम्बन्ध’का मीठा–मीठा कुरा गर्थे । किशोरावस्थाकी प्रमिला उनका कार्यक्रमबाट प्रभावित थिइन् । उनीहरूबीच फोन नम्बर अदान–प्रदान भयो । दुईबीच घन्टौँ गफ हुन्थ्यो । उनी श्रेष्ठलाई भेट्न जिरीसम्मै पुग्थिन् ।

यहीबीचमा कुमारले विवाह गरे । प्रमिलाले पनि विवाह गरिन् । तर, दुईबीचको प्रेम सम्बन्धमा दरार आएन । उनीहरू भेटघाटका लागि कहिले मन्थली त कहिले चरिकोट आउजाउ गरिरहन्थे । दुईबीचको सम्बन्धबारे प्रमिलाका श्रीमान् नसे दमार्इंले थाहा पाए । विवाद प्रहरी कार्यालयसम्म पुग्यो । दुवै पक्षलाई सँगै राखेर प्रहरीले विवाद मिलायो । अब कहिल्यै नभेट्ने भन्दै कुमार श्रीमतीसँग घर लागे, प्रमिला श्रीमान्सँग । तर, दुईबीचको भेटघाट फेरि पनि जारी रह्यो । 

पारिवारिक झमेलाबीच कुमार काठमाडौंको बुद्धनगरमा बस्न थाले । प्रमिला पनि काठमाडौंको भीमसेनगोलामा श्रीमान्सँगै बस्न थालिन् । दुईबीच भेटघाट हुने क्रम अझ बाक्लियो । उनीहरू परिवारका सदस्यलाई छलेर सँगै बस्थे । यसका लागि उनीहरूले भक्तपुरको लोकन्थलीमा कोठा नै लिएका थिए । प्रमिलाले कुमारलाई विवाहको दबाब दिन्थिन् । कुमार टारिरहन्थे । यही विषयले दुईबीच विवाद बढाएको थियो । यही क्रममा कुमारले प्रमिलालाई गत २४ माघमा गौशलास्थित सिराहा धनुषा होटेल एन्ड लजमा बोलाए । कोठामा सँगै बसे । प्रमिलाले यसपटक पनि कुमारलाई विवाहको दबाब दिइरहिन् । तर, कुमार मानिरहेका थिएनन् । 

कुमारले २६ माघमा पनि सोही लजमा बोलाए । उनीहरू सँगै बसे । अब कुनै हालतमा पनि विवाह गर्ने पक्षमा प्रमिला थिइन् । उनी कुमारलाई मनाउन कस्सिइन् । तर, कुमार मान्ने पक्षमा थिएनन् । दुईबीच फेरि विवाद भयो । विवाद झडपमा बदलियो । उत्तेजित बनेका कुमार प्रमिलाको घाँटी अठ्याउन पुगे । सँगै रहेको डोरीले घाँटी कसे । अन्ततः सोही कारण प्रमिलाको ज्यान गयो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्री प्रमिला हत्या विवाहेत्तर सम्बन्धको परिणाम रहेको बताउँछन् । उनले भने, ‘प्रमिला र कुमार दुवै विवाहित हुन् । दुवैका सन्तान छन् । उनीहरूबीच विगतदेखि नै प्रेम सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको छ । पछि उनीहरू काठमाडौंमा बेलाबखत सँगै बस्न थाले । प्रमिला विवाह गर्न चाहन्थिन्, कुमार टार्न । यही विषयमा विवाद भयो । विवाद हत्यामा परिणत भयो ।’

आफ्नै सहायकबाट हत्या 
ओलखढुंगा लिखु गापा–३ का २३ वर्षीय दीपेश खड्कको हत्या उनकै सहायकले गरेको खुलेको छ । उनको शव २७ माघमा काठमाडौं मनपा–६, धपासीस्थित टहरोमा फेला परेको थियो । हत्यामा उनकै गाउँका १८ वर्षीय विकास थापामागर संलग्न रहेको खुलेको छ । विकास दीपेशका सहयोगी हुन् । खड्का काठमाडौंमा प्लम्बरको ठेक्का लिएर काम गर्दै आएका थिए । उनीसँगै काम गर्थे विकास । सँगै बस्दै आएका दुईबीच ज्यालाको विषयमा विवाद भएको थियो । विकासले दीपेशसँग केही दिनदेखि ज्याला माग्दै आएका थिए । तर, दीपेश टार्दैै आएका थिए । विवादपछि उत्तेजित बनेका विकासले दीपेशलाई टाउकोमा ह्याम्मर प्रहार गरेका थिए । सोही कारण उनको ज्यान गएको प्रहरीको भनाइ छ । 

See More On

सुझावित समाचार