खुला नेपाल स्नुकर प्रतियोगिताको उपाधि इटहरीका गौतमलाई

सोमबार, २९ माघ, २०८०
डिजिटल संस्करण

इटहरीका आयुष गौतमले खुला नेपाल स्नुकर प्रतियोगिता २०८० को उपाधि जितेका छन्। फाइनलमा काठमाडौंका वाङचु तामाङलाई ७–५ को सेटमा पराजित गर्दै गौतमले उपाधिसहित नगद एक लाख ५० हजार हात पारे।

पोखरा– १७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोर्टस् बारको आयोजना एवं कास्की विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा सम्पन्न प्रतियोगिताको उपविजेता तामाङले ७० हजार नगद प्राप्त गरे।

प्रतियोगितामा तामाङले एक सय ३२ को टेबल क्लियरेन्स गरी हायस्ट ब्रेक गरी नयाँ रेकर्डसमेत कायम गरेका छन्। आयोजक संस्थाका अध्यक्ष सोम विकका अनुसार यसअघि काठमाडौंका राजन लामाको नाममा एक सय १० को रेकर्ड रहेकोमा तमाङले त्यसलाई तोड्दै नयाँ रेकर्ड कायम गरेका हुन्।

सेमिफाइनलमा पराजित काठमाडौंका राजन लामा र रेगन श्रेष्ठले ट्रफीसँगै जनही २०–२० हजार नगद पुरस्कार पाए। १३ माघदेखि सुरु प्रतियोगितामा देशका विभिन्न स्थानका एक सय २३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

सुझावित समाचार