कम्पनी दर्ता गरेर कर तिर्ने घरजग्गा व्यवसायीको प्रतिबद्धता

सोमबार, २९ माघ, २०८०
डिजिटल संस्करण

घरजग्गा कारोबार गर्दा कम्पनी दर्ता गरी कर कानुनको पालना गर्ने नेपाल जग्गा तथा आवास विकास महासंघले घोषणा गरेको छ । पोखरामा सम्पन्न महासंघको महासभाले १९ बुँदे   घोषणापत्र जारी गर्दै यस्तो प्रतिबद्धता जनाएको हो । ३३ जिल्ला संघसहित ५० जिल्लाका तीन सय ५० भन्दा बढी घरजग्गा व्यवसायीको उपस्थिति रहेको सम्मेलनले रियल इस्टेटलाई उद्योगका रूपमा विकास गर्ने, ब्रोकरेज नियमन र भूमि बजारसम्बन्धी कानुन निर्माण गर्न पहल गर्ने, जग्गाको हदबन्दी हटाउन पहल गर्ने, अपार्टमेन्ट बिक्रीका लागि कानुनी व्यवस्था गर्न आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

यसैगरी, वातावरणमैत्री सहरी विकास गर्ने, नयाँ सहर विकास गर्ने, व्यक्ति निर्मित आवास प्रणालीको अन्त्य गर्न पहल गर्ने, बहुतले अपार्टमेन्ट एवं मिश्रित व्यावसायिक भवनहरूको विकासमा जोड दिने महासंघको घोषणा छ । महासभाले वैशाखमा हाउजिङ सम्मेलन गर्ने निर्णय गरेको महासंघका अध्यक्ष भेषराज लोहनीले जानकारी दिए । यस्तै, उनले स्टक मार्केटजस्तै रियल इस्टेट मार्केटको पनि व्यवस्था गर्नुपर्ने बताए । 

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्रको सहकार्यमा आवास परियोजना अघि बढाउनुपर्ने बताए । ‘कपितय कानुनले गर्दा घरजग्गामा मात्रै होइन, अन्य विषयमा पनि केन्द्र सरकारसँग संघर्ष गर्नुपरेको छ । 

अहिले तपाईंहरूले गण्डकी प्रदेशमा बसेर कुनै व्यवसाय गर्छु भन्दा कम्पनी दर्ता गर्न काठमाडौंको त्रिपुरेश्वर नै जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘यद्यपि, व्यवस्थित बस्ती विकास गर्न हामी सकारात्मक छौँ । यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्न आवश्यक पनि छ । साथै, हामी स्थानीय तहसँगको सहकार्यमा आवश्यक कानुन बनाउने प्रक्रियामा पनि छौँ ।’ 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई व्यवस्थित सहर बनाउन निजी क्षेत्रसँग सहकार्य गर्ने बताए । ‘हामी पोखरालाई पर्यटन राजधानी बनाउने कसरतमा छौँ । त्यसका लागि विभिन्न मापदण्ड हुन्छन्, त्यसमा व्यवस्थित सहरीकरण पनि मुख्य पाटो हो,’ उनले भने, ‘तसर्थ, हामी पोखरालाई व्यवस्थित सहर बनाउन सकारात्मक छौँ । यसका लागि निजी क्षेत्रसँग पनि सहकार्य गर्छाैँ ।’ पूर्वाधारविज्ञ किशोर थापाले व्यक्तिगत आवासभन्दा पनि हाउजिङ, अपार्टमेन्ट निर्माणमा जोड दिनुपर्ने बताए ।

See More On

सुझावित समाचार