खिम्ती जलविद्युतका कारण सहरे गाउँमा खानेपानी अभाव, सुरुङमा पानी छिरेपछि नौ मुहान सुके

सोमबार, २९ माघ, २०८०
डिजिटल संस्करण

६० मेगावाटाको खिम्ती जलविद्युत् आयोजनाका कारण दोलखाको तामाकोसी गाउँपालिकास्थित सहरे गाउँका पाँचवटा बस्तीमा खानेपानी अभाव भएको छ । हिमाल पावर लिमिटेड प्रवर्द्धक रहेको जलविद्युत् आयोजनाले दोलखा र रामेछापको सिमानामा रहेको खिम्ती खोलाको पानी भूमिगत सुरुङमार्ग हुँदै सहरे गाउँका बस्तीमुनिबाट तामाकोशी नदीको किनारमा विद्युत्गृह निर्माण गरेको छ । 

पछिल्लोपटक विद्युत् उत्पादनमा पानी कम भएको भन्दै सुरुङमार्गबाट वितरण गरिएको पानीको लाइन काटिदिएपछि सहरे गाउँका पाँचवटा बस्तीका ६८ परिवारले खानेपानी अभाव झेलिरहेका छन् । च्यानडाँडाका पाँच, फुँयालथुम्काका तीन तथा ज्यामिरे र पौवा खिम्तीडाँडाका एउटा–एउटा मुहान सुकेका हुन् ।

२० वर्षअघि सञ्चालनमा आएको खिम्ती जलविद्युत् आयोजनामा निर्मित भूमिगत सुरुङका कारण ०७२ को भूकम्पसँगै बस्तीका मुहान सुक्दै गएका थिए । मुहान सुकेर खानेपानी संकट सुरु भएपछि आयोजनाले भोटेछाप सुरुङ हुँदै बगेको पानी प्रविधि प्रयोग गरी बस्तीमा वितरण गरेको थियो । तर, पछिल्लो समय विद्युत् उत्पादनमा पानी कम भएको भन्दै सुरुङमार्गबाट वितरण गरिएको पानीको लाइन काटिदिँदा ६८ परिवार मारमा परेको स्थानीय चन्द्रबहादुर बस्नेतले बताए ।

सुरुङमार्गबाट वितरण गरिएको पानी सहरेको फुँयालथुम्का र खिम्तीडाँडाका २२–२२, पौवाका ११, ज्यामिरेका नौ र च्यानडाँडाका चार घरपरिवारले प्रयोग गर्दै आएका थिए । तर, आयोजनाले खानेपानी लाइन काटिदिएपछि अहिले बस्ती काकाकुल बनेको खिम्ती ग्रामीण विद्युत् सहकारीका उपाध्यक्षसमेत रहेका स्थानीय भुवन केसीले बताए । 

स्थानीय ८० वर्षीय अम्बरबहादुर सुवेदीका अनुसार यहाँ आयोजना बन्नुअघि पर्याप्त पानी थियो । तर, बस्तीमा सुरुङ बनेपछि बिस्तारै घट्दै गएकामा भूकम्पपछि पूर्ण रूपमा बन्द भएको उनको भनाइ छ । भएका मुहान सुकेको र खाइरहेको पानीसमेत आयोजनाले बन्द गरिदिएपछि बस्ती काकाकुल बनेको ७८ वर्षीय उत्तरबहादुर सुवेदीले बताए । 

तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष सिर्जना सुवेदीले पानी अभाव भएका स्थानीयमाथि आयोजनाले चरम लापरबाही गरेकोे बताइन् । प्राकृतिक स्रोत दोहन गरी पानीको मुहान सुकाउने आयोजनामाथि कानुनी कारबाही हुनुपर्ने उनको भनाइ छ । 

भूकम्पका कारण मुहान सुकेको हो : आयोजना 
खिम्ती जलविद्युत् आयोजनाका प्लान्ट मेनेजर श्याम भट्टले आयोजनाका कारण नभई भूकम्पपछि बस्तीका मुहान सुकेको दाबी गरे । यद्यपि, बस्तीका मुहान सुकेपछि स्थानीयलाई सुरुङमार्फत टनेलको पानी खुवाउँदै आएकामा टनेलको पानी पनि पिउनयोग्य नभएकाले वैकल्पिक व्यवस्था गर्न आवश्यक बजेट व्यवस्था गरेर मात्र काटिएको बताए । मेनेजर भट्टले डिप बोरिङको पानीलाई प्रशोधन गरेर खान सकिने बताए । ‘आयोजनाका कारण मुहान सुकेको होइन, तैपनि बस्तीमुनि सुरुङ भएकाले हाम्रो दायित्व छ, त्यसैले वैकल्पिक बजेटको व्यवस्था गरेका हौँ । स्थानीयले समाधानसहितको विकल्प ल्याए अध्ययन गर्छौँ र निकासका लागि छलफल गर्छौँ,’ उनले भने । 

खिम्ती जलविद्युत् आयोजनाको ५० लाख बजेटमा सहरे रंगशालानजिकैको खोल्सीमा डिप बोरिङ निर्माण गरिएको थियो । पाँचवटा बस्तीमा खानेपानीको वैकल्पिक व्यवस्था गर्न बृहत् सहरे खानेपानी उपभोक्ता समितिले डिप बोरिङ बनाएको हो । तर, बोरिङबाट सफा पानी निस्कन सकेको छैन । थोरै काम गरेर उपभोक्ता समितिले आर्थिक अनियमितता गरेको आरोप स्थानीयको छ । 

स्थानीय शिवकुमार श्रेष्ठले उपभोक्तासँग विनाछलफल, सार्वजनिक सुनुवाइसमेत नगरी, सडकछेउमा एककोठे भवन बनाई, अन्दाजी ७० फिट गहिरो डिप बोरिङ खनेर रकम भुक्तानी लिएको आरोप लगाए । भट्टले भने यसबारे आफूलाई जानकारी नभएको बताए । बृहत् सहरे खानेपानी उपभोक्ता समितिका अध्यक्ष उद्धव खातीले ५० लाख बजेटमध्ये ३३ लाख भुक्तानी भएको बताए । सोही बजेटले डिप बोरिङ निर्माण, ट्यांकी निर्माण र २८ सय मिटर पाइप तथा अन्य सामग्री खरिद गरिएको बताउँदै उनले अनियमितताको आरोपको खण्डन गरे । 

सुझावित समाचार