युनानका सुविख्यात दार्शनिक सुकरात घुम्दैफिर्दै एउटा नगरमा गए । त्यहाँ उनको भेट एकजना वृद्ध सज्जनसँग भयो । उनीहरूबीच निकै राम्रो हेलमेल भयो । ती वृद्धले सुकरातलाई आफ्नो निवासमा लिएर गए । उनको घरमा छोराबुहारी, नातिनातिना सबै थिए । सुकरातले ती वृद्धसँग सोधे, ‘तपाईंको घरमा त सुख–समृद्धिको वास रहेछ । हिजोआज तपाईंचाहिँ के गर्नुहुन्छ ।’
वृद्धले भने, ‘हिजोआज मैले केही गर्नुपर्दैन । कारोबार राम्रो चलिरहेको छ, जसको सबै जिम्मेवारी अब छोरालाई दिएको छु । घरको जिम्मेवारी बुहारीले सम्हाल्छिन् । यसरी जीवन सुखपूर्वक चलिरहेको छ । मैले जीवनको यो मोडमा एउटै नीति अपनाएको छु । अरूबाट धेरै अपेक्षा नगर्ने जे मिल्छ त्यसैमा सन्तुष्ट रहने । म र मेरी श्रीमतीले परिवारको उत्तरदायित्व छोराबुहारीलाई सुम्पिएर निश्चिन्त छौँ । अब उनीहरू जे भन्छन् म त्यही गर्छु । जे दिन्छन्, त्यही खान्छु । नातिनातिनासँग हाँस्छु–खेल्छु । म बालबच्चाको कुनै पनि कार्यमा बाधक बन्दिनँ ।’
‘तर, कहिलेकाहीँ त तपाईंलाई उनीहरूले तपाईंको कुरा सुनून् र मानिदिऊन् भन्ने लाग्छ होला नि, सुकरातले सोधे । वृद्धले जवाफ दिए, ‘यदि उनीहरू मसँग सल्लाह लिन आए भने म मेरो अनुभवका आधारमा तिनको दुष्परिणामबारे सचेत गरिदिन्छु । उनीहरूले मेरो सल्लाह मान्छन् कि मान्दैनन् त्यो हेर्नु, आफ्नो मन दुखाउनु अब मेरो काम होइन । उनीहरू मेरो निर्देशनमा चलून् भन्ने मेरो आग्रह रहँदैन ।’ वृद्ध सज्जनको यस्तो कुरा सुनेर सुकरात निकै प्रसन्न भए र भने, ‘यो उमेरमा जीवन कसरी बाँच्नुपर्छ भन्नेबारे तपाईंको बुझाइ एकदमै सम्यक छ । आखिर, जस्तो बोलिन्छ प्रतिध्वनि पनि उस्तै त हुन्छ ।’