सौराहा दक्षिण एसियाली चलचित्र महोत्सवमा ‘सतीदेवी’ सर्वोत्कृष्ट

आइतबार, २८ माघ, २०८०
डिजिटल संस्करण

सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव– ०८० मा सर्वोत्कृष्ट चलचित्रको उपाधि ‘सतीदेवी’ले जितेको छ। क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२ गतेसम्म चितवनको सौराहामा भएको महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ चलचित्र सर्वोत्कृष्ट घोषित भएको हो।

‘सतीदेवी’ले सर्वोत्कृष्ट चलचित्रको उपाधिसँगै ५० हजार रुपैयाँ नगद पुरस्कार जितेको छ। यही चलचित्रबाट निर्देशक सुवेदीले वरिष्ठ निर्देशक स्व. शिव रेग्मीको नाममा समर्पित शिव रेग्मी सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड पनि जित्न सफल भए। समारोहमा निर्देशक सुवेदीलाई स्व. निर्देशक शिव रेग्मीकी धर्मपत्नी ज्ञानु रेग्मी र छोरा डा. अभिषेक रेग्मीले अवार्ड प्रदान गरेका थिए।

महोत्सवमा उत्कृष्ट वृत्तचित्र अवार्ड डा. सचिन घिमिरे र गौरव केसीद्वारा निर्देशित ‘म अलप हुन चाहन्छु’ले प्राप्त गरेको छ। वृत्तचित्रले उपाधिसँगै नगद २५ हजार पुरस्कारसमेत प्राप्त गरेको छ।

त्यस्तै, उत्कृष्ट लघु चलचित्रको अवार्ड प्रदीप पोखरेलले निर्देशन गरेको ‘स्नो लियोपार्ड’ले प्राप्त गरेको छ। यसले पनि नगद २५ हजार पुरस्कार प्राप्त गरेको छ। त्यस्तै, उत्कृष्ट सम्पादकको अवार्ड  ‘नांगो गाउँ’बाट बनिशा शाहले जितेका छन्।

सिनेमाटोग्राफरको उपाधि ‘विच्छेद’बाट संकल भुजेलले प्राप्त गरेका छन् भने यसै चलचित्रबाट उत्कृष्ट चलचित्र लेखनको उपाधि सत्यराज चौलागाईं र मुकुन भुसालले प्राप्त गरेका छन्। यस्तै, ‘जुरी इन्करेजमेन्ट अवार्ड’ रोशनकुमार श्रेष्ठ निर्देशित गीति चलचित्र ‘भाग्य’ले प्राप्त गर्याे।

महोत्सवमा दक्षिण एसियाली देशका ४० भन्दा बढी चलचित्रले सहभागिता जनाएकोमा २० वटा चलचित्र प्रदर्शन गरिएको क्याराभान नेपालका अध्यक्ष विमल पौडेलले जानकारी दिए।

सुझावित समाचार