शीर्ष नेता र मन्त्रीहरूसँग मुख्यमन्त्रीहरूका गुनासैगुनासा

शुक्रबार, २६ माघ, २०८०
डिजिटल संस्करण

हिउँदे अधिवेशनमै संघीयता कार्यान्वयनसम्बन्धी सबै कानुन बनाउने सरकारको प्रतिबद्धता

सरकारले संघीय संसद्को जारी हिउँदे अधिवेशनमै संघीयता कार्यान्वयनसम्बन्धी सबै कानुन बनाउने प्रतिबद्धता जनाएको छ । संघीयता कार्यान्वयनमा शीर्ष नेता, संघीय मन्त्री र सांसदहरू अनुदार रहेको मुख्यमन्त्रीहरूको गुनासोपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जारी संसद् अधिवेशनबाट आवश्यक कानुन बन्ने विश्वास दिलाएका हुन् । 

बुधबार राष्ट्रिय समन्वय परिषद्को बैठक गरेका प्रधानमन्त्री प्रचण्डले बिहीबार गठबन्धन दलका शीर्ष नेता र सातै प्रदेशका मुख्यमन्त्री तथा संघीय सरकारका मन्त्रीहरू र सबै मुख्यमन्त्रीहरूलाई राखेर छुट्टाछुट्टै छलफल गरेका थिए । प्रधानमन्त्री प्रचण्डले यी छलफल संघीयता कार्यान्वयनका लागि रणनीतिक महत्वका रहेको बताएका छन् ।

‘आज गठबन्धन दलका शीर्ष नेताहरू र मुख्यमन्त्रीहरूलाई सँगै राखेर बालुवाटारमा छलफल गरेको छु । आज नै संघीय मन्त्रीहरू र मुख्यमन्त्रीहरू सँगै राखेर सिंहदरबारमा छलफल गरेको छु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘संसद् अधिवेशन चलिरहेको सन्दर्भमा यी छलफल संघीयता कार्यान्वयनमा रणनीतिक महत्वका हुनेछन् भन्ने मेरो विश्वास छ ।’

छलफलमा मुख्यमन्त्रीहरूले गठबन्धनमै रहेका दलका शीर्ष नेता, संघीय मन्त्री र सांसदहरूले सक्रियता नदेखाएको गुनासो गरेपछि प्रधानमन्त्रीले सरकारको तर्फबाट आफ्नो प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्रीले बोलाएको बैठकमा गठबन्धन दलका शीर्ष नेताले संघीयता कार्यान्वयनमा आवश्यक पहल गर्ने आश्वासन दिएका छन् । 

प्रदेश मुख्यमन्त्रीहरूले शीर्ष नेता र मन्त्रीहरूसँग संविधानमै भएको अधिकार दिन संघले आनाकानी गरेको गुनासो गरेपछि प्रधानमन्त्री प्रचण्डले संघीय मन्त्रीहरूलाई सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन् । ‘संघीयता कार्यान्वयन हाम्रो उच्च प्राथमिकतामा छ । संघीयताको सुदृढ कार्यान्वयन हामी सबैको साझा जिम्मेवारी हो । यहाँहरूले मुख्यमन्त्रीको चिन्ता र चासो बुझ्नु नै भयो । त्यसलाई गम्भीरतापूर्वक लिनुस्,’ मुख्यमन्त्रीहरूस“गको भेटमा प्रधानमन्त्री प्रचण्डले संघीय मन्त्रीहरूलाई निर्देशन दिँदै भने । मुख्यमन्त्रीहरूको सक्रियताबाट संघीयता कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास थियो । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीनिवास बालुवाटारमा तीनै तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि मुख्यमन्त्रीहरूले आगामी दिनमा अपनाउनुपर्ने उपायबारे शीर्ष नेताहरूसँग छलफल गरेका थिए । शीर्ष नेताहरूसँगको बैठकमा सहभागी जसपा प्रवक्ता मनीष सुमनका अनुसार छलफलमा मुख्यमन्त्रीहरूले केन्द्रले आवश्यक कानुन नबनाउँदा प्रदेशले समस्या भोग्नुपरेको गुनासो गरेका थिए । 

उनीहरूले केन्द्रले यस विषयमा ढिलाइ गर्न नहुने र शीर्ष तहबाट गम्भीर रूपमा लिन ध्यानाकर्षण गराएका थिए । ‘उहाँहरूले प्रधानमन्त्रीसँग गरेका गुनासो नै हामीलाई सामूहिक रूपमा सुनाउनुभयो । विशेषगरी केन्द्रले ऐन नबनाउँदा प्रदेशले भोग्नुपरेका समस्यामा उहाँहरूको जोड थियो,’ प्रवक्ता सुमनले भने । 

प्रधानमन्त्री प्रचण्डले संघीयताको प्रभावकारी कार्यान्वयनमा गठबन्धन प्रतिबद्ध रहेको आश्वस्त पारेका थिए । ‘हिजोसम्म तपाईंहरूको कुरा सुन्ने म मात्रै थिएँ । अब सत्तागठबन्धन तपाईंहरूको साथमा छ । हामी चालू हिउँदे अधिवेशनबाटै प्रदेशमा आवश्यक र बन्न नसकेका कानुन निर्माण गर्नेछौँ,’ प्रधानमन्त्रीले बैठकमा गरेको प्रतिबद्धताबारे सुमनले नयाँ पत्रिकासँग भने । 

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, माओवादी उपमहासचिव वर्षमान पुनसहित सत्तासाझेदार दलका नेता सहभागी थिए ।

बुधबार प्रधानमन्त्री ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बसेको थियो । बुधबार सम्पन्न बैठकमा संघीयता कार्यान्वयन सम्बन्धमा संघीय सरकारले गर्न बाँकी कार्ययोजना र हालसम्म भएका तथा कार्यान्वनमा देखिएका समस्याबारे प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्रीहरूसँग छलफल गरेका थिए । 

सुझावित समाचार