रौतहट पुगेर ओलीले भने–एमालेमा आगो लगाएर माधव नेपाल गठबन्धनलाई घर भन्दै हिँडे

शुक्रबार, २६ माघ, २०८०
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले आफूले बनाएको विशाल घरमा आगो लगाएर माधव नेपालले गठबन्धनलाई घर भन्दै हिँडेको बताएका छन् । एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको बिहीबार उद्घाटन गर्दै अध्यक्ष ओलीले गठबन्धनले निकालेपछि नेपाल घर न घाटका हुने टिप्पणी गरे । 

‘एमालेले पार्टीको प्रमुख १५ वर्ष बनायो । हामीले उनलाई उपप्रधानमन्त्री, प्रधानमन्त्री बनायौँ,’ ओलीले भने, ‘अहिले त काठमाडौंतिरै छन् । गठबन्धन भत्कन दिन्नँ, घरमा आगो लगाउँदिनँ, गठबन्धन त मेरो घर हो भन्दै हिँड्छन् ।’ आफैँले बनाएको विशाल पार्टी दुईतिहाइ पुगेपछि माधव नेपालले पार्टी फोड्ने, सरकार ढाल्ने र कांग्रेसको पाउमा लगेर सरकार बुझाउने कामको अगुवाइ गरेको अध्यक्ष ओलीले जिकिर गरे । गठबन्धनको पछि लाग्दा पनि माधव नेपालको पार्टी राष्ट्रिय पार्टी बन्न नसकेको भन्दै उनले अर्को चुनावमा त्यो हैसियत पनि नहुने बताए । ‘अहिले पनि तिनको पार्टी राष्ट्रिय पार्टी छैन । अहिले स्वतन्त्र सांसदको हैसियतमा छन् । अर्कोपटक त्यो हैसियत समाप्त हुन्छ । अब अर्कोपल्ट चुनाव पनि जित्दैनन् । जित्न पनि दिनुहुँदैन,’ उनले थपे । 

उनले एमाले सरकारमा हुँदा पैसाको अभावले विकास निर्माणको कुनै काम नरोकिएको चर्चा गर्दै त्यसवेला एमालेले सुरु गरेका विकास आयोजना अहिलेको सरकारले अघि बढाउन नसकेको जिकिर गरे । एमाले सरकारले बनाएको पोखरा विमानस्थल गठबन्धन सरकारले सञ्चालन गर्नसमेत नसकेको उनको भनाइ थियो । देशको जर्जर अवस्थाको कारण गठबन्धन सरकार नै भएको भन्दै उनले गठबन्धन सरकारले देश चलाउन नसक्ने दाबी गरे । पटकपटक नेपालप्रति आक्रोश व्यक्त गरेका ओलीले माधव नेपालकै कारण रौतहटमा विकास हुन नसकेको आरोपसमेत लगाए ।

See More On

सुझावित समाचार