जलवायु न्यूनीकरणका लागि डब्लुडब्लुएफ नेपाल र आइएफआरसीबीच साझेदारी

बिहिबार, २५ माघ, २०८०
डिजिटल संस्करण

नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासंघ (आइएफआरसी)बीच साझेदारीको सुरुवात गरिएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक समारोहबीच ‘जनताको रक्षाका लागि प्रकृतिमा काम गर्ने’ विषयका साथ विश्वव्यापी साझेदारीलाई पछ्याउँदै ती दुई संस्थाले रणनीतिक साझेदारीको थालनी गरेका हुन् । नेपालजस्ता विकासोन्मुख देशहरूमा बढ्दो जलवायु परिवर्तनको प्रभाव र मौसमसम्बन्धी प्रकोपलाई सम्बोधन गर्न तथा जलवायु संकटको प्रकृतिमा आधारित समाधानबाट लाभ उठाउने उक्त साझेदारीको उद्देश्य रहेको छ ।

कार्यक्रममा डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले जलवायु संकटको सामना गर्न वन्यजन्तु र जैविक विविधताको संरक्षण आवश्यक रहेकामा जोड दिँदै यसले मानिस र प्रकृतिको भविष्यसमेत सुनिश्चित रहने बताए । साथै उनले दुई संस्थाबीचको यस सहकार्यले संयुक्त प्रयासलाई सार्थक तुल्याउने बताए ।

नेपालस्थित आइएफआरसीका देशीय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले जलवायु संकटको सामना गर्न जैविक विविधता र वन्यजन्तुको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै यसले भावी पुस्तालाई दिगो बनाउन महत्वपूर्ण हुने बताए । साथै उनले दुई संस्थाबीचको सहकार्यमा अन्य साझेदार निकायलाई सहयोगका लागि आह्वान गर्ने ठूलो अवसर भएकोसमेत उल्लेख गरे । नेपालका लागि फिनल्यान्डका राजदूत रिना रिक्का हेइकाले जलवायु परिवर्तनले निम्त्याएका जोखिमलाई कम गर्न सामूहिक रूपमा मिलेर काम गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले जलवायु परिवर्तनले निम्त्याएका विपतलाई न्यूनीकरण गर्न सोसाइटीले कार्ययोजना बनाई काम गरिरहेको जानकारी दिए। डब्लुडब्लुएफ नेपाल र आइएफआरसीबीचको साझेदारी र संयुक्त विशेषज्ञताले नेपालमा भइरहेको जलवायु संकट, उदीयमान जोखिम र सामाजिक चुनौती सम्बोधन गर्न योगदान हुने विश्वास गरिएको छ ।

दुवै संस्थाले सरकार, साझेदार निकाय, विकास साझेदार र निजी क्षेत्रसँगको स्थानीय कार्य र सहयोगमार्फत जलवायु अनुकूलन रणनीतिमा प्रकृतिलाई एकीकृत गर्ने लक्ष्य राखेका छन् । डब्लुडब्लुएफ वन्यजन्तु र वातावरण संरक्षणका क्षेत्रका कार्यरत सन् १९६१ मा स्थापना भएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो भने आइएफआरसी १९१ राष्ट्रिय समाजमार्फत एक करोड ६० लाखभन्दा बढी संकटासन्न जनतामा पुग्ने विश्वको ठूलो मानवीय सहायता सञ्जाल हो ।  
 

सुझावित समाचार