युद्धविरामबारे छलफल गर्न अमेरिकी विदेशमन्त्री इजरायलमा

बुधबार, २४ माघ, २०८०
डिजिटल संस्करण

प्यालेस्टिनी इस्लामिक लडाकु समूह (हमास)सँगको युद्ध पाँचौँ महिना प्रवेश गरेको वेला युद्धविराम सम्झौताका लागि पहल गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन बुधबार इजरायल आइपुगेका छन् । 

साउदी अरब, इजिप्ट र कतारपछि मध्यपूर्वको भ्रमणका क्रममा उनले इजरायलमा नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । द्वन्द्वको सुरुमा अस्थायी युद्धविरामको मध्यस्थता गरेको कतारले हमासले युद्ध रोक्नका लागि नयाँ प्रस्तावित सम्झौताको जवाफ दिएको बताएको छ ।

कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले ब्लिंकेनसँग दोहामा भएको भेटपछि भने, ‘जवाफमा केही थप माग समावेश भए पनि यो सकारात्मक छ ।’

ब्लिंकेनले हमासको जवाफ इजरायलसँग ‘साझा’ भएको र बुधबार त्यहाँ छलफल गर्ने बताएका छन् । उनले अझै धेरै काम गर्न बाँकी रहेको, तर सम्झौता सम्भव छ र वास्तवमै आवश्यक छ भन्ने कुरामा आफू विश्वस्त रहेको बताए । 

इजरायली गुप्तचर संस्था मोसादले पनि हमासको जवाफ प्राप्त गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जनाएको छ । नेतन्याहुले मंगलबार भनेका थिए, ‘हामी पूर्ण जितको बाटोमा छौँ र हामी रोकिनेछैनौँ ।’

इजिप्टसँग जोडिएको गाजाको दक्षिणी सीमामा रहेको राफा सहरतर्फ इजरायली सेनाले आक्रमण गरेपछि युद्धविरामका लागि दबाब बढेको छ ।

संयुक्त राष्ट्रसंघीय सहायता समन्वय कार्यालय ओसिएचएका प्रवक्ता जेन्स लार्कले भने, ‘स्पष्ट रूपमा भन्नुपर्दा, यस अवस्थामा राफामा हुने सम्भावित कारबाहीले ठूलो मात्रामा नागरिकको ज्यान लिन सक्छ र यसबाट बच्न हामीले आफ्नो शक्तिले भ्याएसम्म सक्दो प्रयास गर्नुपर्छ ।’

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणमा एक हजार एक सय ६० जनाको मृत्यु भएको थियो । त्यसयता इजरायलले गाजामा आक्रमण गरिरहेको छ । यस आक्रमणमा २८ हजारभन्दा बढीको ज्यान गइसकेको छ । (रासस/एएफपी)

सुझावित समाचार