हरिवनमा ‘ड्रोन’मार्फत जग्गाको नापजाँच

बुधबार, २४ माघ, २०८०
डिजिटल संस्करण

हरिवन नगरपालिकाले ‘ड्रोन’ प्रविधिमार्फत जग्गाको नापजाँचकाे सुरुवात गरेको छ। नगरभित्रका भूमिहीन सुकुमवासी, भूमिहीन, दलित तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा प्रदान गर्नका लागि ड्रोनमार्फत जग्गाको नापजाँच थालिएको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले जानकारी दिए। 

उनका अनुसार दुई महिनाभित्रमा  नगरपालिकाभित्रका ११ वटै वडामा जग्गाको नापजाँच गर्ने काम सम्पन्न हुनेछ।  हरिवन– १ स्थित कोठीखोला र सिकारी टोलबाट ड्रोनमार्फत जग्गाको नापजाँच शुभारम्भ गरिएको हाे।

सो प्रविधिमार्फत जग्गा नापजाँच गर्दा जनशक्ति तथा समयको पनि बचत हुने भएकाले चाँडै नै भूमिहीन सुकुमवासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा प्रदान गर्न सजिलो हुने नगर उपप्रमुख हरिमाया घलानले बताइन्।

उनले ड्रोन तथा डिजिपिएस प्रणालीको विधिबाट काम गर्दा अन्यभन्दा १० गुणा बढी प्रभावकारी हुने भएकाले पनि ड्रोनको प्रयोग सुरु गरिएको जानकारी दिए।

हरिवन– १ का  विभिन्न स्थानको अभिलेख तयार गरी नापी  र मालपोत कार्यालय हरिवनको समन्वयमा राष्ट्रिय भूमि आयोग सर्लाहीमा पेस गरिने भूमिहीन सुकुमवासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोवासीलाई छिट्टै जग्गाधनी पुर्जा प्रदान गरिने हरिवन नगरपालिको भूमि सेवा केन्द्रका प्रमुख सुवास कुशवाहाले बताए।

उनका अनुसार  नगरपालिकाभरि भूमिहीन सुकुमवासी एक हजार २०, भूमिहीन दलित दुई सय ९१ र अव्यवस्थित बसोवासी दुई हजार पाँच सय २१ जनाको फारम हालसम्म अनलाइनमा प्रविष्ट गरिएको छ।

See More On

सुझावित समाचार