पहाडी भू-भागमा आंशिक बदली रहने

मंगलबार, २३ माघ, २०८०
डिजिटल संस्करण
पहाडी भू-भागमा आंशिक बदली रहने

फाइल तस्बिर

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिए। 

उनले भने, ‘देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली भएको छ, कैलालीको धनगढीमा हुस्सु र तराईका सम्पूर्ण भू–भागमा कुहिरो लागेको छ, आजसहित एक–दुई दिनका लागि वर्षाको सम्भावना न्यून रहे पनि केही प्रदेशमा हिमपातको सम्भावना छ।’

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले काठमाडौंको वायुको तापक्रम १० डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता तीन हजार पाँच सय मिटर छ। यसैगरी काठमाडौंको आजको न्यूनतम तापक्रम ३.५ डिग्री रहेको तथा आज अधिकतम तापक्रम १८ देखि २० डिग्री सेन्टिग्रेड रहने मौसमविद् पुडासैनीले बताए। उनका अनुसार काठमाडौंमा वर्षाको सम्भवना नरहेको र काठमाडौंको मौसम आजका लागि मुख्यतया सफा छ।

यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
 

See More On

सुझावित समाचार