श्याम परदेशीलाई सम्पत्ति शुद्धीकरणमा सफाइ

मंगलबार, २३ माघ, २०८०
डिजिटल संस्करण

मिटरब्याजबाट सर्वसाधारणलाई ठगी गरेका श्याम परदेशी भनि चिनिने श्यामकृष्ण साहलाई विशेष अदालतले सफाइ दिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा उनलाई सोमबार सफाइ दिने फैसला भएको हो ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उक्त निर्णय गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २० साउन ०७९ मा उनीसहित दुईजनाविरुद्ध मुद्दा चलाएको थियो । उनकी पत्नी मञ्जुदेवीलाई पनि प्रतिवादी बनाइएकोमा उनले पनि सफाइ पाएकी हुन् ।

झुक्याएर नक्कली तमसुक बनाई सर्वसाधारणबाट चर्को ब्याजमा ऋण दिने गरेको भन्दै सर्लाहीका परदेशीविरुद्ध उजुरी परेको थियो । उनीविरुद्ध विभागले तीन करोड २० लाख ९२ हजार रुपैयाँभन्दा बढी बिगो मागदाबी गरेको थियो । उनकी श्रीमती मञ्जुसँग भने ६५ लाख रुपैयाँको बिगो माग गरिएको थियो । उनीविरुद्ध जिल्ला अदालत सर्लाहीमा समेत ठगीको मुद्दा विचाराधीन छ । 

कोशीमा सांसदहरूको सेवा–सुविधा बढाइएको विरुद्ध रिट दायर
कोशी प्रदेशमा पूर्वमुख्यमन्त्रीसमेतका पदाधिकारीलाई गाडी तथा अन्य सेवा–सुविधा दिने अध्यादेश ल्याइएकोमा त्यसविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ । सोमबार दायर रिटमाथि बुधबार सुनुवाइ हुने सर्वोच्चको सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए ।

उक्त प्रदेशले सत्तारूढ पार्टीका संसदीय दलका नेताहरू, पूर्वमुख्यमन्त्रीलगायतलाई गाडी सुविधा दिने गरी अध्यादेश जारी गरेको थियो । ६ माघमा केही ऐन संशोधन गर्न बनेको अध्यादेशबाट सरकारमा सहभागी दलका संसदीय दलका नेताहरूलाई प्रदेश सभाबाट दिइने सेवा–सुविधा बढाइएको थियो । यसैविरुद्ध रिट दायर भएको हो । 

उक्त अध्यादेश संविधानसँग बाझिएको भन्दै रुपन्देहीका अधिवक्ता कपिलदेव ढकालले रिट दर्ता गराएका हुन् । जसमा प्रदेश सकारको कार्यालय, प्रदेश सभा र प्रदेश प्रमुखको कार्यालयलाई विपक्षी बनाइएको छ । उक्त रिटमा अग्राधिकार माग गरिएको छ भने अध्यादेशअनुसारको सेवा–सुविधा बढाउने कार्य तत्काल रोक्न अन्तरिम आदेशसमेत माग भएको छ । 

सुझावित समाचार