सामसुङका प्रमुखलाई सेयरसँग सम्बन्धित मुद्दामा सफाइ

सोमबार, २२ माघ, २०८०
डिजिटल संस्करण
सामसुङका प्रमुखलाई सेयरसँग सम्बन्धित मुद्दामा सफाइ

तस्बिर : राेयटर्स

दक्षिण कोरियाको एक अदालतले सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई निर्माण तथा इन्जिनियरिङ कम्पनी सामसुङ सी एन्ड टी र चेइल इन्डस्ट्रिजबीच सन् २०१५ को विवादास्पद कम्पनी एकीकरण हुँदा गरिएको सेयरसँग सम्बन्धित विभिन्न अपराधबाट सफाइ दिएको छ।

योनहाप समाचार एजेन्सीका अनुसार अदालतले आलोचकहरूले खराब नियतले सामसुङको तेस्रो पुस्तामा लीलाई स्थापित गर्ने उद्देश्यबाट गरिएको भनी दाबी गरेको एकीकरण (मर्जर)को माध्यमबाट ‘सेयरधनी’हरूलाई हानि पुर्याउने मनसायलाई मान्यता नदिएको ठहर गरेको छ।

योनहाप समाचार एजेन्सीका अनुसार अदालतको फैसलामा ‘लीको नियन्त्रणलाई बलियो बनाउनु र उनको उत्तराधिकार सुनिश्चित गर्नु मर्जरको एक मात्र उद्देश्य नभएको’ ठहर गरिएको छ।

सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टको फैसलाले सन् २०१५ मा सामसङ सी एन्ड टी र चेइल इन्डस्ट्रिजबीच भएको मर्जरमा सेयर मूल्यमा धाँधली, विश्वासघात र लेखासम्बन्धी भ्रष्टाचारलगायत विभिन्न आरोपबाट लीलाई सफाइ दिएको हो।

‘आजको फैसलाले एकीकरणका क्रममा कम्पनीहरूको सेयर विभाजन वैध थियो भन्ने ठहर गरेको छ। हामी अदालतको विवेकपूर्ण निर्णयका लागि हार्दिक धन्यवाद दिन्छौँ,’ लीका वकिलद्वारा जारी संक्षिप्त वक्तव्यमा भनिएको छ।

आलोचकहरूले सन् २०१५ को अधिग्रहणले जानीजानी निर्माण फर्मको सेयर मूल्यलाई कम मूल्यांकन गरेको यसको सेयरधनीहरूलाई अनुचित रूपमा प्रभावित पारेको दाबी गरेका थिए।

उच्चस्तरीय जालसाजी र अनियमितताको मुद्दामा जेल सजाय भुक्तान गरिसकेका ली सामसुङ इलेक्ट्रोनिक्सका वर्तमान कार्यकारी अध्यक्ष हुन्। योनहापको एक रिपोर्टका अनुसार यस सम्झौतामा सामसुङको सी एन्ड टीको तीनवटा सेयर बजारीकरणका लागि प्रस्ताव गरिएको थियो।

अभियोजन पक्षले नोभेम्बरमा आफ्नो अन्तिम बहसमा कम्पनीहरूको सेयर विभाजन प्रक्रियामा समूह प्रमुखको सहज उत्तराधिकारको लागि केही अवैध कार्यहरू अवलम्बन गरिएको उल्लेख गरेको थियो।

लीले अदालतमा आफू ‘मर्जरमा व्यक्तिगत स्वार्थ’बाट प्रेरित नभएको बताएका थिए। ‘मैले अन्य सेयरधनीहरूलाई क्षति पुर्याउने खर्चमा मेरो हिस्सेदारी बढाउने कल्पना गरेको थिइनँ,’ योनहापले उनको दाबीलाई उद्धृत गर्दै लेखेको छ।

एक पर्यवेक्षकले एएफपीसँग कुरा गर्दै लीलाई ‘फ्रि पास’ दिइएको भन्दै आफूहरू स्तब्ध भएको बताएका छन्। नागरिक समूह ‘सिटिजन्स कोलिसन फर इकोनोमिक जस्टिस’का निर्देशक ओह से–ह्युङले भने, ‘अदालतले लीविरुद्ध केही प्रमाणहरू उचित प्रक्रियाविना नै संकलन गरिएको आधारमा आफ्नो निर्णयलाई आधार बनाएको देखिन्छ। तर, यसले मात्र लीलाई स्वतन्त्र सफाइ दिनुहुँदैनथ्यो। अभियोजन पक्षले उहाँलाई जवाफदेही बनाउन सक्दो प्रयास गरेको छ कि छैन भन्नेमा मलाई शंका लागेको छ।’

मुद्दाबारे पहिलोपटक सुनुवाइ सुरु भएको करिब तीन वर्षपछि यो फैसला आएको हो।

सुझावित समाचार