आजको नेपाली समाजमा नकारात्मक भाष्य व्याप्त छ । प्रधानमन्त्रीज्यू ! सकारात्मकताको ताला खोल्ने साँचो ‘योगध्यान’ गर्ने–गराउने माहोल बनाइदिनुहोस् ।
सम्माननीय प्रधानमन्त्रीज्यू ! यहाँलाई कमरेड प्रचण्डको रूपमा सम्बोधन गर्न मलाई बढी ओजपूर्ण र आत्मीय लागेर तदनुरूप खुलापत्र लेख्दै छु । यसपटक हँसिया हथौडामा मतदान गरेको मतदाता पनि रहेकाले यहाँ स्वयंले अन्तिम अवसरको रूपमा लिनुभएको तेस्रो कार्यकाल सफल रहोस् भन्ने कामना र सहयोगी भावमा लेखिएको यो खुलापत्र सोही रूपमा ग्रहण गर्नुहुने अपेक्षा राखेको छु । दसवर्षे जनयुद्ध सञ्चालन र युद्धलाई शान्तिमा रूपान्तरण गर्दै गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री भएर नेपाली राजनीतिमा तपाईंले निर्वाह गर्नुभएको ऐतिहासिक भूमिका जगजाहेर छ । समाजमा व्याप्त विभेद र त्यसले उत्पन्न गरेको द्वन्द्व देखेर समतामूलक समाज मात्र शान्त र समृद्ध हुन सक्छ, समतामूलक समाज निर्माणको उद्देश्य कम्युनिस्ट पार्टीको हुन्छ भन्ने ठानी माले, एमाले र नेकपाको सक्रिय कार्यकर्ता बनेको थिएँ म पनि ।
नेपाली राजनीतिको पछिल्लो इतिहास नियाल्दा विपरीत ध्रुवमा राजनीति गरेका कांग्रेस र कम्युनिस्ट मिलेर पञ्चायती व्यवस्था फाली प्रजातन्त्र पुनस्र्थापना गरेकोदेखि टाउकाको मूल्य तोक्ने र तोकिने मिलेर जनआन्दोलन गरी संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको यथार्थ छ । दलहरूको संयुक्त आन्दोलनबाट ०४६ मा पुनस्र्थापना भएको संसदीय प्रजातन्त्रलाई संस्थागत गरेको ०४७ को संविधान कार्यान्वयन मिलेर गर्नुपर्ने दलहरू सत्ता छिनाझपटीमा लाग्दा छुटेको विकासको यात्रा अगाडि बढाउन भनी ०५२ मा यहाँले जनयुद्ध थालनी गर्नुभयो । जनयुद्धको प्रभाव र ०६२÷०६३ जनआन्दोलनले सिर्जना गरेको नैतिक दबाबमा राजाले गद्दी छाडनुपरेकै हो । ००७ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा पनि नेपालीले रगत बगाएकै हुन् । छिमेकीलगायत अरू देशले व्यवस्था परिवर्तनको एउटा आन्दोलन गरेपछि विकास गर्नेतिर अग्रसर भई विश्व महाशक्ति राष्ट्रमा दरिइसके । थोरै अवधिको अन्तरालमा धेरै आन्दोलन झेली कमजोर अवस्थामा पुगेको हाम्रो देश थप आन्दोलनको झट्का थेग्न नसक्ने अवस्थामा छ । पद्धति र सफा मन भए विकास हुन्छ भन्ने उदाहरण अमेरिका, बेलायतलाई हेर्दा तथा पद्धति र मन सफा नहुँदा व्यवस्था परिवर्तनले मात्र विकास नभएको तथ्य हाम्रै देशको अवस्थाले प्रमाणित गर्छ ।
उत्कृष्ट ठानिने व्यवस्था र पर्याप्त स्रोत–साधन तथा जनशक्ति भएर पनि हाम्रो देशमा किन विकास हुन सकेन ? यसतर्फ एकान्तमा एकाग्र चित्त भएर आत्मचिन्तन गरिदिनुहोस् । भागवत् गीताको छैटौँ अध्यायमा आचरणले मनलाई संयमित राखेमा सफलताको शिखर चुमाउने, अन्यथा आफ्नै मन ठूलो शत्रु बनी हानिकारक सिद्ध हुने भनी महापुरुष श्रीकृष्णले अर्जुनलाई भनेको कुरा अन्तरमनदेखि केलाउनुहोस् । मानिसले आफ्नो शरीरलाई सत्कर्ममा क्रियाशील गराई मन शान्त पार्न र विवेकद्वारा नियन्त्रण गर्न सक्छ भन्ने यथार्थलाई मनन गर्नुहोस् । समाजमा व्याप्त भ्रष्टाचार तथा ठगीका घटना र बढ्दो अराजकताले असत कर्म र विवेकहीन प्रवृत्ति हाबी भएको प्रस्टै देखिएको हुँदा सजगता बढाउनुहोस् । पंक्तिकारले योगध्यानमा श्रद्धा र भरोसा राखी हरेक बिहान डेढ घन्टा अभ्यास गर्दा दुई–चार महिनाको अन्तरालमा प्राप्त गरेको जीवन ऊर्जा, सकारात्मक सोच र सहयोगी भावमा आएको वृद्धिले यो अनुभव र अनुभूति साझा गरी मुलुकलाई सही दिशामा अघि बढाउन प्रयत्नरत यहाँलाई सहयोग गर्नखातिर यो खुलापत्र लेखेको हुँ ।
जनताबीच श्रेष्ठ बनेर जनमत हासिल गरी राज गर भन्ने जबज र गाउँदेखि विकास गर भन्ने प्रजातान्त्रिक समाजवादमा विश्वास गर्ने भएकाले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षामा सघाउन कार्यक्रमसहित समृद्धिको स्रोत पहिचान र परिचालन अभियान उठाउन केन्द्रदेखि वडा तहसम्म पुगी घचघचाउँदा पनि तत्कालीन सरकार, जनप्रतिनिधि र दलहरूबाट बेवास्ता भएपछि नेकपा परित्याग गरी स्वतन्त्र भएँ । त्यही वेला मर्निङ वाकको विकल्पमा जुममार्फत योगध्यानको साधनामा प्रवेश गरे । दुई वर्षको अभ्यासको क्रममा सामान्य परिवर्तन भएकोमा गत साउनमा जीवन विज्ञानको सातदिने चक्र साधनाको प्रशिक्षण र १०१ दिने चक्र साधनामा सहभागी भएपछि चामत्कारिक रूपान्तरण नै आयो । फलस्वरूप जीवनका सबल–दुर्बल पाटा जस्ताको तस्तै स्विकार्ने, अरूको गल्ती खोज्न होइन, सच्याउन सहयोगी बन्ने । प्रेम, करुणा र सेवाभाव जागी आत्मैदेखि प्रकट भएको खुसीले मनमा शान्ति र मुहारमा कान्ति ल्यायो । हिजोको अव्यवस्थित जीवनशैली बदलिएर खानपान, रहनसहनमै परिवर्तन आयो । खुसी हुँदै काम गर्ने र अकस्मात् रिस उठ्यो वा झर्काे बोली बोलिएमा तत्काल सच्याउन स्वस्फुर्त सजगता बनेको छ । विगत र भविष्यमा निरर्थक भौँतारिने मनले आज के गर्दा आफूसँगै समाज देश र मानव जगत्को बृहत् हित होला भनी आत्मचिन्तन गरिरहेको छ ।
जोसँग जे छ, उसले त्यही दिन सक्छ भन्ने भगवान् बुद्धको प्रसिद्ध भनाइ छ । आफूमा जोस, जाँगर, सकारात्मक र सहयोगी भाव भएको व्यक्तिले मात्र त्यो अरूलाई पनि बाँड्न सक्छ । योगध्यानको अभ्यासले मानव शरीरमा चाहिने आवश्यक हर्माेन उत्पादन गर्न र रोग प्रातिरोधी क्षमता बढाएको अनुसन्धानबाट प्रमाणित भएर आधुनिक चिकित्सा विज्ञानले पनि उपचार पद्धतिको रूपमा योगध्यानलाई स्वीकार गरिसकेको छ । शरीरका अंगहरूमा ऊर्जा सञ्चार गराउँदै जोस, जाँगर बढाउने, शरीर सक्रिय बनाई स्वतः मन शान्त र आत्म जागृत हुने, जागृत भएको आत्माले बुद्धि र विवेकको मेल गराउँदै श्रद्धा, प्रेम, करुणा र सेवाभाव प्रकट गराउने काम योगध्यानले गर्छ । अन्ततोगत्वा मानिस आत्मज्ञानले भरिई आफू शान्त र खुसी हुँदै शान्ति र खुसी अरूमा बाँड्न सत्य कर्ममा लाग्छ ।
आज देशको बृहत् हित ओझेलमा परेको छ । नेपाललाई योगको विश्वाव्यापी केन्द्र बनाउन सिंगो राष्ट्रको ध्यान केन्द्रित हुन जरुरी छ । दुई–चार पेस्तोलबाट विकट गाउँदेखि सुरु गरेको जनयुद्ध राज्यको सुरक्षा संयन्त्र आच्छु–आच्छु पार्ने तहमा विकास गरेर पनि शान्तिमा रूपान्तरण गर्ने विवेक यहाँले पु¥याउनुभयो । पटक–पटक प्रधानमन्त्रीको अनुभव, पार्टी एकताले आर्जेको अवसर र टुटफुटले सिर्जिएको चुनौतीले दिलाएको अनुभूति र युगीन परिवर्तनको संवाहक हुन सकेकोमा प्राप्त गौरव र त्यसमा धक्का लाग्ने हो कि भन्ने आशंकाले चिन्तित यहाँ नै अहिले यो मुलुकको प्रधानमन्त्री हुनुहुन्छ । साथै, विगतको अनुभवबाट शिक्षा लिँदै प्रमुख विपक्षीलगायतलाई समेट्दै दुई पाइला अगाडि, एक पाइला पछाडि सारी यहाँले प्रदर्शित गर्नुभएको लचकतासहितको क्षमताशील हुटहुटीले योगध्यानको विषय राष्ट्रको प्रमुख एजेन्डामा पारी तीनै तहका सरकार, सबै राजनीतिक दल र तिनका सबै कार्यकर्ता र सबैखाले संघसंस्थामा व्यापक छलफल चलाई दैनिक आहाराको अंगको रूपमा नियमित अभ्यास गर्ने–गराउने माहोल खडा गर्न सक्ने क्षमता यहाँले राख्नुहुन्छ । यसमा म विश्वस्त रहेकाले विश्वास र भरोसाको अभिव्यक्ति पनि हो यो खुलापत्र ।
यहाँले भर्खरै युगान्डामा बुद्धको देशको प्रधानमन्त्रीको हैसियतले विश्वशान्तिको सन्देश दिएर आउनुभएको छ । संयोगवश जीवन विज्ञान संस्थाले बुद्धको जन्मभूमि लुम्बिनीमा आगामी चैत महिनामा पाँच हजारलाई एकसाथ एक सातासम्म योगध्यान गराएर कीर्तिमानी ढंगले नेपालसँगै विश्वको ध्यानाकर्षण गराउने हेतुले कार्यक्रमको आयोजना हुँदै छ । सो कार्यक्रममा सबै पार्टीका नेताहरू, जनप्रतिनिधि र कर्मचारीहरू सहभागी हुने वातावरण सिर्जना गर्न सकेमा योगध्यानतर्फ राज्य अभियानको रूपमा अग्रसर भएको सन्देश फैलिई रचनात्मक ऊर्जा सञ्चार हुनेछ । स्मरणीय के भने, न यस्ता अवसर बारम्बार आउँछन्, न अवसरले पर्खिन सक्छ । अन्त्यमा, आजको नेपाली समाजमा नकारात्मक भाष्य व्याप्त छ । श्रद्धेय कमरेड प्रचण्ड ! सकारात्मकताको ताला खोल्ने साँचोका रूपमा योगध्यान गर्ने–गराउने माहोल बनाइदिनुहोस् ।