बंगलादेशमा ४० मेगावाट विद्युत् बिक्री गर्ने गरी सम्झौता गर्ने प्रक्रिया अघि बढेको छ । नेपालले कहिलेदेखि बंगलादेशमा विद्युत् निर्यात गर्न सक्छ ?
खरिद प्रक्रियाबाट पनि बंगलादेशसँग विद्युत् व्यापार सम्झौता गर्ने प्रक्रिया अघि बढाएका छौँ । आउँदो बर्खादेखि नै बंगलादेशमा विद्युत् निर्यात हुने सम्भावना छ । तत्काल हिउँदमा विद्युत् निर्यात गर्न पुग्दैन । तसर्थ, असार १ गतेदेखि कात्तिक ३० गतेसम्म ४० मेगावाट विद्युत् निर्यात गर्ने गरी नेपाल विद्युत् प्राधिकरण र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच सम्झौता हुनेछ ।
अहिले नेपालले सीमा जोडिएको भारतसँग विद्युत् व्यापार गरिरहेको छ । अब सीमा नजोडिएको मित्रराष्ट्र बंगलादेशसँग पनि विद्युत् सुरु हुँदै छ, यसले के संकेत गर्छ ?
यो सांकेतिक रूपमा निकै महत्वपूर्ण छ । यसले बंगलादेशसँग विद्युत् व्यापार गर्न बाटो खुला गर्दै छ, अर्थात् नेपाली बिजुलीका लागि नयाँ बजार थपिँदै छ । नेपाली बिजुलीका लागि बंगलादेश पनि ठूलो बजार हो । हामीले आगामी १० वर्षमा भारतमा १० हजार मेगावाटसँगै बंगलादेशमा पनि थप पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य लिएका छौँ, त्यो लक्ष्य पूरा गर्न यसले बाटो खुला गरेको छ । त्यसमाथि हामीले बंगलादेशसँग दीर्घकालीन अवधिकै सम्झौता गर्दै छौँ, त्यसले गर्दा नेपाली बिजुलीका लागि बंगलादेशको बजार पनि दीर्घकालीन रूपमा सुनिश्चित गर्छ । अहिले ४० मेगावाट विद्युत् मात्रै निर्यात हुन लागेको हो । आउँदा दिनमा यो अझै बढ्दै जान्छ । साथै, हिउँदमा बंगलादेशबाट विद्युत् आयात गर्न पनि सकिन्छ ।
नेपाल–बंगलादेश विद्युत् व्यापारमा केही चुनौती छन् कि ?
यसमा खास चुनौती देखिँदैन । बंगलादेशमा विद्युत् पुर्याउन भारतीय प्रसारण लाइन प्रयोग गर्नुपर्छ । भारतले समयमा त्यसको स्वीकृति दिएन भने समस्या आउन सक्छ । भारतले समयमै स्वीकृति दियो भने समस्या हुँदैन ।