बुधबार २० अंकले घटेको नेप्से परिसूचक बिहीबार पनि दोहोरो अंकले घटेर साताको कारोबार बन्द भएको छ। आज नेप्से ३०.९२ अंकले घटेर दुई हजार ६७.०१ विन्दुमा कायम भएको हो।
सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्समा समेत आज एक प्रतिशतभन्दा धेरैको गिरावट देखिएको छ। बिहीबार दुई सय २६ कम्पनीको सेयर मूल्य घट्दा १९ कम्पनीको मात्रै बढेको छ।
कुल एक करोड १५ लाख १४ हजार कित्ता सेयर किनबेच हुँदा चार अर्ब १८ करोड ६ लाख रुपैयाँबराबरको कारोबार भएको छ। बुधबारको तुलनामा आज कारोबार रकममा पनि गिरावट आएको हो । उक्त दिन पाँच अर्ब २६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो।
आज वित्त समूहको सूचक ०.२१ प्रतिशतले बढ्दा बाँकी सबै समूहको सूचक घटेका छन्। सर्वाधिक घटेका जलविद्युत् र अन्य समूहको सूचकमा क्रमशः २.३५ प्रतिशत र दुई प्रतिशतले गिरावट देखिएको छ।
यस दिन समाज लघुवित्तका लगानीकर्ताले सर्वाधिक ६.१० प्रतिशत र रावा इनर्जी विकास लिमिटेडका लगानीकर्ताले ३.८३ प्रतिशत कमाएका छन्। यता, सामलिङ पावर कम्पनी, मिडसोलु हाइड्रोपावर, मोलुङ हाइड्रोपावर कम्पनी, थ्री स्टार हाइड्रोपावर र पिपल्स हाइड्रोपावरको सेयर मूल्य ९.४२ प्रतिशतदेखि ५.८४ प्रतिशतसम्म घटेको छ।
यस दिन कारोबार रकम र कारोबार सेयर संख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो । कम्पनीको सात लाख ६९ हजार सात सय ९९ कित्ता सेयर ५४ करोड एक लाख ८४ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ।