अब ठूला भ्रष्टचारीका फाइल खोलिन्छ : कानुनमन्त्री गुरुङ

बुधबार, १७ माघ, २०८०
डिजिटल संस्करण

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब ठूला भ्रष्टाचारीको फाइल खोलिने बताएका छन्। उनले भ्रष्टाचारीको कुनै जात, धर्म, पार्टी र राष्ट्रियता नहुने बताउँदै उनीहरूलाई सबैले बहिष्कार गर्नुपर्ने बताए। 

वर्तमान सरकारले गैरकानुनी गतिविधिलाई निरुत्साहित गर्न पहल कदमी लिएको उल्लेख गर्दै मन्त्री गुरुङले मानव तस्करी, सुन ओसारपसारलगायतका ठूला-ठूला काण्डलाई कानुनी दायरामा ल्याई कारबाहीको प्रक्रिया अघि बढिरहेको बताए।

सरकारका हरेक क्रियाकलापलाई एकथरीले नकारात्मक तवरले मात्र प्रचार गरी सरकारले गरेका पहललाई ओझेलमा पार्न खोजेको उनको आरोप थियो।

पश्चिम नवलपरासीको बर्दघाटमा रहेको न्युलाइफ माविमा आयोजना गरेको चौथो राष्ट्रपति  रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले पछिल्लो समय हरेक क्षेत्रमा  नकारात्मक भाष्य सिर्जना गर्न खोजिएको बताए।

उनले भने, ‘हरेक कुरामा नकारात्मक भाष्य स्थापित गर्न खोजिँदै छ। आउँदो पिढीलाई समेत देशभित्र कुनै अवसर छैन भन्ने खालका निराशाजनक वातावरण तयार गरी युवा पलायनलाई प्रोत्साहित गरिरहेका छौँ। यो कुरा रोक्नुपर्छ।’

मुलुक परिवर्तनका लागि सबै नेतृत्वमा सोच परिवर्तन हुनु जरुरी रहेको मन्त्री गुरुङको धारणा रहेको थियो। कार्यक्रममा बोल्दै कानुनमन्त्री गुरुङले न्याय सबैलाई समान हुनेमा जोड दिँदै आमनागरिकलाई सहज रूपमा न्यायको प्रत्याभूति हुने गरी काम गर्नेमा जोड दिए।

सुझावित समाचार