सर्लाहीको कविलासी नगरपालिकामा निर्माण हुन लागेको मदनपुर–गुलरिया सिँचाइ ब्यारेज योजना सम्झौता भएको २२ महिना बित्न लाग्दा पनि निर्माणस्थलको टुंगो लाग्न सकेको छैन । सिँचाइको आवश्यक प्रबन्ध नभएको यस क्षेत्रका किसानले अकासेपानीका भरमा खेती गर्दै आएको छन् । कविलासी नगरपालिका वडा नम्बर ३ र ६ को सिमाना भएर बग्ने ढंग्रा खोलामा ड्याम बन्ने र खेतमा वर्षैभरि पानी आउने भनेर खुसी भएका स्थायिन किसान योजना ठेक्का लागेको २२ महिना बित्दा पनि निर्माणको अत्तोपत्तो नहुँदा निराश भएका छन् ।
कविलासी नगरपालिकासहित चक्रघट्टा र कौडेना गाउँपालिकाका किसानलाई समेत सिँचाइ सुविधा पु¥याउने उद्देश्यसहित गत २१ चैत ०७९ मा दुई वर्षको समयावधि राखेर ठेक्का लागेको थियो । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय मलंगवा सर्लाहीका अनुसार नौ करोड ७२ लाख ४० हजार नौ सय ५२ रुपैयाँमा आशिष–पृथ्वी–योगेश्वर जेभी निर्माण कम्पनीले ठेक्का सकारेको हो ।
आयोजना निर्माण सम्पन्न हुँदा यस क्षेत्रआसपासका पाँच सय हेक्टर क्षेत्रमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय सर्लाहीले जनाएको छ । निर्माणस्थलको टुंगो नलागेका कारण निर्माण सामग्री लिएर २१ महिनादेखि निर्माणस्थलनजिकै क्याम्प खडा गरेर बसेका निर्माण व्यवसायी केशव दाहालले बताए । काम सुरु गर्न भनेर निर्माणस्थलमा फलामका सामान, प्लाई, काठपात, बालुवालगायतका सामान निर्माणस्थलनजिकै पु¥याइसकिएको उनको भनाइ छ । निर्माणस्थलनजिकै उपकरण रुँगेर आफ्ना कामदार महिनौँदेखि बसिरहेको उनको गुनासो छ । पटक–पटक निर्माणस्थल क्लियर गरिदिन आग्रह गर्दा पनि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय मलंगवाले कुनै जवाफ नदिएको उनले बताए ।
जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय मलंगवाले निर्माण व्यवसायीलाई आयोजना सम्झौताको १६ महिनापछि बल्लतल्ल डिजाइन उपलब्ध गराएको छ । पटक–पटक ताकेता गरेपछि कार्यालयले ड्रइङ डिजाइन दिएको निर्माण कम्पनीले जनाएको छ । सुरुमा स्थानीयले आयोजनाका लागि जग्गा दिने सहमति गरे पनि पछि विभिन्न बहाना गरेर निर्माणमा अवरोध गरेको जलस्रोत तथा सिचाइ डिभिजन कार्यालय मलंगवाका सिनियर अधिकृत लक्ष्मण ठाकुरले बताए । यसको समाधानको पहल भइरहेको उनको भनाई छ । स्थानीयले मुआब्जा नै दिनुपर्ने अडान भने नराखेको उनले बताए ।
यता कविलासी नगरपालिकाका मेयर ब्रह्मदेव रायले जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले लापरबाही पूर्ण ढंगले ठेक्का लगाएका कारण योजना अलपत्र परेको बताए । आयोजनाले मुआब्जाविना नै संरचना निर्माण गर्न खोजेको तथा स्थानीयले उपयुक्त मुआब्जा खोजेका कारण योजना अलपत्र परेको मेयर रायको भनाइ छ ।